पंगेनीले पहिले रुवाए पछि छमछमी नचाए

0
Shares

सलिम अन्सारी, प्युठान
लोकप्रिय लोक दोहोरी गायक बद्री पंगेनीमा रुवाउने, नचाउनेदेखि क्रान्तिका लागि जुरुक्क पार्नेसम्मको शक्ति छ।

जुम्री बसपार्क व्यवस्थापन र सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने भन्दै प्युठानमा चलेको मेलामा गायक पंगेनीले दर्शकका आँखामा आँसु छल्किने गरी गाए। उनले गीत गाउँदा महोत्सव हेर्न पुगेका दर्शकको आँखाबाट आँसु थामिएन। महोत्सवको मुख्य आकर्षक बनेका गायक पंगेनीले स्टेज चढ्नेबित्तिकै आमा बिदा पाउँदिनँ बोलको गीत गाए।

उनले गीतमार्फत विदेशमा रहेका नपालीको विभिन्न कथावस्तु सुनाए। धेरै दर्शक आमाहरूले आँखाबाट आँसु झारे। उनी गीत गाउँदै दर्शकसामु पुगे। धेरै आमाहरू उनको मुहार हेर्दै आँसु झारिरहेका थिए। गायक पंगेनीको गीतमा महिलाहरू मात्रै होइन, धेरै पुरुषका आँखाबाट समेत आँसु झरे। गीत गाउँदा पंगेनी आफै भावनामा डुबेर स्तब्ध जस्तै थिए। गीतमा उनले विदेशिएका धेरै नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन आग्रह गरे। बद्रीले दर्शकलाई भावुक मात्र होइन, रमाइलो पनि दिनुपर्छ भन्ने बुझे र नचाउने गीत गाउन शुरू गरे।

उनले कान्छी सालीमा, रातो पछ्यौरी, खोइ हाम्रो दिलमा त घामै लागेनलगायतका गीत गाएपछि भर्खरै भावुक भएका दर्शकमा जोस भरियो र नाच्न शुरू गरिहाले। दर्शकहरू फेरि खुसी हुँदै नाचेर साथ दिए। पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवापुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए। महोत्सव बुधबारसम्म चलेको थियो।

जुम्री बसपार्क व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवबाट संकलन भएको रकमले जुम्री बसपार्क व्यवस्थापन र सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको जुम्री मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताए।