उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन

0
Shares

काठमाडौँ ।
नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ४ उच्च स्तरीय सुरक्षा तालिमको उद्घाटन गरिएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहका बीच प्रथम प्रवचन गरि तालिमको शुभारम्भ गर्नु भएको हो

यसै क्रममा थापाले यस तालिमले राष्ट्रिय सुरक्षा सम्बन्धी उत्पन्न हुने चुनौतीहरुलाई निराकरण गर्न मद्दत पुग्नुको साथै सरकारी सुरक्षा संयन्त्रबीच आपसी सहयोग एवं समन्वय हुन अपरिहार्य रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा रक्षा मन्त्रलायका सह–सचिव ऋषीराज भण्डारीले विश्वमा परिवर्तित सुरक्षा चुनौतिहरुबाट कुनैपनि राष्ट्र अलग रहन नसकेको अवस्थामा यस तालिमले राष्ट्रिय सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जना सहभागी हुनुहुन्छ भने हालसम्म उक्त तालिम ७० जना अधिकृतहरुले गरिसक्नु भएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य शुरु भएको उक्त समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

उक्त तालिम फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।