नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित


अबुजा ।
अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई एक मौका दिन राष्ट्रपति बुहारीले आमजनता समक्ष आग्रह गर्नुभएको थियो ।

नाइजेरियाका धेरै नागरिकले नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउने चाहे पनि यसपटक निराश भएका छन् । पूर्व सैनिक तानाशाह समेत रहेका राष्ट्रपति मोहम्मदु बुहारीले अरु राजनीतिक व्यक्तिले जनताको भावनाको सम्मान गर्न नसकेका कारण पनि विजय हासिल गरेको बताइन्छ ।

औपचारिक नतिजा घोषणा भएलगत्तै उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति बुहारीले जितबाट आफू जनताप्रति अनुगृहित रहेको बताउनुभयो । चुनावी हिंसाका कारण दर्जनौं व्यक्तिको मृत्यु भएकाप्रति उहाँले दुःख प्रकट गर्नुभयो ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै राष्ट्रपति बुहारीका समर्थकहरुले राजधानी अबुजाका सडकमा नाचगान शुरु गरेका थिए । यद्यपी, उहाँका मुख्य प्रतिस्पर्धी अतिकु अबुबाकरलाई मतगणनामा निकै पछि पार्नासाथ राष्ट्रपति बुहारीका समर्थकले अबुजामा नाराजुलुस लगाउन थालेका थिए ।

पूर्व उपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजना सहित ठूलो चुनावी अभियान चलाउनुभएको थियो ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति बुहारीले एक करोड ५१ लाख अर्थात् ५५ प्रतिशत मत प्राप्त गर्नुभएको छ । मुख्य प्रतिस्पर्धी अबुबाकरले एक करोड १२ लाख अर्थात् ४१ प्रतिशत मत प्राप्त गर्नुभयो । नाइजेरियाको यस पटकको चुनावमा करिब ३६ प्रतिशत मात्र मतदान भएको थियो ।

अबुबाकरको पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै नाइजेरियाका ३६ वटा राज्यमध्ये चार वटामा पुनः चुनाव गर्न माग गरेको छ ।

तर राष्ट्रपति बुहारीको दलले विपक्षीले लगाएको आरोपको खण्डन गर्दै चुनावी परिणाम स्वीकार्न आग्रह गरेको छ ।
रासस