मुढा बनाउन सिक्दै महिला

0
Shares

धनवीर दाहाल,रुकुम । रुकुम पश्चिम को त्रिवेणी गाउँपालिका –१ रुँघाका महिला मुढा बनाउन सिक्न थालेका छन् । बेरोजगार बनेर बसेका स्थानीय महिलाहरुका लागि गाउँपालिकाको सहयोगमा मुढा बनाउने १५ दिने तालिम सञ्चालन गरिएको हो ।

तालिमका लागि गाउँपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ बजेट छुट्याईएको छ । यसबाट यहाँका १५ महिला र तीनजना पुरुषले समेत मुढा बनाउने तालिम सिक्दै आएको त्रिवेणी गाउँपालिका –१ का वडाध्यक्ष मोहनकिशोर ओलीले बताउनुभयो । गाउँपालिकाको उक्त थोरै बजेटबाट प्रशिक्षक भत्ता, डोरी किन्ने र सामान्य खाजाको मात्र व्यवस्था गरिएको छ । ‘तालिमका सहभागीले हामीलाई सीप चाहिएको हो, भत्ता दिनुपर्दैन भनेपछि थोरै बजेटबाट यसरी कार्यक्रम तय गरिएको हो ।’ उहाँले भन्नुभयो,‘यसबाट केही रोजगारी सिर्जना गर्न सकेमा आगामी वर्ष बजेट थप गर्न पहल गरिनेछ ।’ मुढा बनाउने तालिमका प्रशिक्षक समेत स्थानीय हुँदा थोरै बजेटबाट सम्भव भएको उहाँको भनाई छ ।

स्थानीय महिला सहकारी संस्थामा आवद्ध निर्मला चन्दले यसबारेमा सिकाईरहनु भएको छ । आफूले सिकेको सीप स्थानीय महिलाहरुलाई सिकाउन पाउनु आफ्नो लागि पनि खुसीको कुरा भएको निर्मलाको भनाई छ । थोरै बजेटबाट पनि स्वरोजगारमूलक तालिम सञ्चालन भएपछि सहभागीहरु खुसी भएका छन् । स्थानीय स्तरमै पाइने बाँसको सदुपयोग गरेर व्यवसायिक मुढा उत्पादन गरेमा राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ ।