८० लाख लगानीमा ग्रामीण क्षेत्रमा सोलार मिनिग्रिड सञ्चालनमा

0
Shares

सरोज यादव, विराटनगर ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकासँगै जोडिएर पनि विद्युत नपुग्दा अँध्यारोमा जीवनयापन गर्दै आएका मोरङको जहदा गाउँपालिकाको सुकुम्बासी वस्तीमा सोलार मिनिग्रीड सञ्चालनमा आएको छ । मिनिग्रिड सञ्चालनमा आएपछि ८० सुकुम्वासी परिवारले आफूहरुको जीवनमा उज्यालो आएको महसुस गरेका छन ।

मोरङको जहदा गाउँपालिकाको वडानम्बर २ र ७ मा सोलार मिनीग्रिड सञ्चालनमा आएपछि ती क्षेत्रका सुकुम्बासी सन्थाल परिवारमा खुशियाली छाएको छ । बिजुली बत्तीको अभावमा अँध्यारोमा कष्टपूर्ण जीवन ब्यतीत गर्दै आएका उनीहरुको घरघरमा यतिखेर परियोजनाबाट उत्पादित सोलार बत्ती जडान भएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रेनो मायरले परियोजनाको औपचारिक शुभारम्भ गरेका हुन । सो ठाउँमा जहदा गाउँपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत निर्मित सौर्य ऊर्जा मिनिग्रिड परियोजना सञ्चालनमा ल्याइएको हो ।


८० लाखको लगानीमा वडानम्बर २ मा ५ किलोवाट र वडानम्बर ७ मा ८ किलोवाटको मिनिग्रिड संचालनमा ल्याइएको छ । परियोजना संचालनमा आएपछि जहदा गाउँपालिका २ बीरपुरका ५० घर र जहदा ७ सिर्सियाका ३० घरसमेत गरेर ८० सन्थाल परिवार लाभान्वित भएका छन् ।

१ हजार रुपैयाँ धरौटी राखेपछि ती परिवारहरुले सोलारबाट उत्पादन हुने विद्युत उपभोग गर्न पाएका हुन् । सोलारबाट लाइन जडान गरेका सुकुम्बासी परिवारले प्रतिपरिवार ४ वटा बल र एउटा पंखा चलाउनका साथै रेडियो तथा अन्य विद्युतीय उपकरणसमेत चलाउन पाउने भएका छन् ।

त्यसबापत उनीहरुले २० युनिटको एकसय रुपैयाँ भुक्तान गर्नुपर्नेछ । सौर्य उर्जालाई दीर्घकालीन रुपमा सञ्चालन र व्यवस्थित गर्न सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको छ भने मर्मत सम्भार र प्राबिधिक समस्या समाधान गर्न स्थानिय ४ जना महिलालाई आवश्यक तालिम समेत दिइएको छ ।

दुईदिनसम्म घाम नलाग्दापनि निर्बाध विद्युत आपुर्ति हुने गरि ब्याकअप रहने परियोजनाका साइट इन्जीनियर ज्ञानेन्द्रकुमार सिंहले जानकारी एि । जीवनयापनका निम्ति न्युनतम आवश्यकताभित्र पर्ने बिद्युत अझै पनि देशका विभिन्न दुरदराज क्षेत्रहरुका साथै मोरङकै विभिन्न गांउपालिकाहरुका बासिन्दाले उपभोग गर्न पाएका छैनन ।