लापोन्मुख कुसुण्डा भाषा सिक्दै नयाँ पुस्ता

0
Shares

नरेन्द्र केसी, दाङ ।
लोपोन्मुख कुसुण्डा भाषा बोल्ने व्यक्तिहरु घट्न थालेपछि नयाँ पुस्तालाई सिकाउन थालिएको छ ।
कुसुण्डा भाषा बारे जानकारी दिन कुसुण्डा भाषा पूर्णरुपमा जानेकी ज्ञानीमैया कुसुण्डाको घरमा कक्षा सञ्चालन गरिएको छ ।स्रोत व्यक्तिको रुपमा ज्ञानीमैयाले नै नयाँ पुस्तालाई भाषा सिकाइरहनुभएको छ । तालिम शुरु भएको केही दिनमै नयाँ पुस्ताले दोहोरो कुराकानी गर्नसक्ने भएका छन् ।

अब कुसुण्डा भाषा जानेका दुई जना मात्रै छन्, ८२ वर्षीय ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीय कमला कुसुण्डा कुसुण्डा । यी दुबै दाङको लमहीमा बसोबास गर्छन् । ज्ञानी मैयाको घरमा १३ जना बालबालिकाले कुसुण्डा भाषा पढिरहेका छन । भाषा पढ्न कुसुण्डा समुदायका नयाँ पुस्ता दाङ, प्युठान र सुर्खेतबाट आएका छन् ।

कुसुण्डा भाषाका अध्ययनकर्ता उदय आलेले पनि बालबालिकालाई कुसुण्डा भाषा पढाइरहनुभएको छ । ९० घण्टाको प्रारम्भिक कक्षामा बालबालिकालाई कुसुण्डा भाषा सिकाउन थालिएको हो । भाषा आयोगले पहिलो पटक लोपन्मुख भाषा कुसुण्डाको संरक्षण गर्न यसरी कक्षा सञ्चालन गरेको हो ।

कुुसुण्डा जातिको भाषा सिक्न नयाँ पुस्ता अग्रसर भएपछि वर्षौदेखि भाषा लोप हुन्छ कि भनेर चिन्ता गर्दै आएकी ज्ञानुमैयाँ कुसुण्डा हर्षित हुनहुुहुन्छ । ‘आफनो भाषा नयाँ पिढिले सिकोस भन्ने लागेको थियो तर भाषा सिक्न कसैले चासो दिएनन’ उहाँले भन्नुभयो– ‘तर अहिले धेरे बालबालिकाहरु भाषा सिक्न आएका छन । यिनीहरुले भाषा सिक्छन भन्ने मलाई विश्वास लागेको छ ।’

नयाँ पुस्ताले आफ्नो मातृभाषा सिक्न चासो देखाएको कुसुण्डा भाषाका जानकार समेत रहेका शिक्षक उदय आले बताउनुहुन्छ । कक्षामा भाषाको चिनारी, शब्दको अर्थ, शब्द प्रयोग, शब्द भण्डारको बारेमा सिकाइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार देशभर दुई ७३ जना कुसुण्डा जातिका मानिसहरु रहेका छन । तर, कुल एक सय ५० जना मात्रै रहेको स्वतन्त्र अध्ययनले देखाएको छ । मध्य दाङ, प्युठान, सुर्खेत, झापा, सुनसरी, सिराह, काठमाण्डौ, मोरंगलगायतका जिल्लाहरुमा कुसुण्डा जातिको बसोवास रहेका छन । नेपालमा कुल १ सय २३ भाषा छन् । जस मध्य २९ वटा भाषा लोपोन्मुख छन् ।

अहिले लोपन्मुख तीन वटा भाषा संरक्षण गर्न भाषा आयोगले बढी चासो देखाएको छ । जसअनुसार दाङमा कुसुण्डा भाषा, भोजपुरमा तिलुंग र गोरखामा बराम भाषाको कक्षा सञ्चालन गरिएको छ । लामो समय लगाएर भाषा आयोगले कुसुण्डा भाषासम्बन्धी बिज्ञहरुबाट अध्ययन पनि गराएको थियो ।