तम्घासको ‘भूत बंगला’ लाई अत्याधुनिक अतिथि गृह बनाइने

0
Shares

अनिल खत्री, गुल्मी ।
संरक्षण र प्रयोग बिहिन अबस्थामा रहेको कुनै बेलाको निकै राम्रो अतिथि गृह पाहुना घर अहिलेको ‘भूत बंगलालाई’ पुन अतिथि गृह बन्ने भएको छ । गुल्मी जिल्लामा आउने अतिबिशिष्ट व्यक्तिहरुको लागि निर्माण गरिएको अतिथि आवास गृह अहिले भने भूत बंगालामा परिणत भएको छ ।
सदरमुकाम तम्घासमा आउने कुनै पनि बिशिष्ट व्यक्तिहरुलाई राख्नको लागि भन्दै ०२५ सालमा निर्माण भएको भवन अहिले भने जिर्णसँगै भूत बंगाला नामले परिचित छ । रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा पर्ने अतिथि आवास गृह संरक्षण अभावले प्रयोग बिहीन छ ।
मर्मत नहुँदा आवास गृह प्रयोगबिहीन भएपछि स्थानीवासीले यसलाई भूतबंगाला भनेर चिन्छन् । तत्कालीन समयमा निकै कलात्मक ढंगले निर्माण गरिएको भवन हाल जिर्ण अवस्थामा छ । तर यसलाई पुनः पहिले भन्द झनै कलात्मक ढंगबाट निर्माण गरेर अतिथि गृह पाहुना घर नै बनाइने भएको छ ।

अत्यन्तै ऐतिहासिक, पुरातात्वयिक महत्व भएको भवनलाई सबैले भूत बंगला भनेर चिन्ने गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गुल्मी जिल्लामा सरकारी तबरको अरु कुनै अतिथि गृह पनि नभएकाले त्यस भवनको सदुपयोगका निम्ति पनि पुनःभूत बंगलालाई अतिथि गृह नै बनाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पञ्चायत कालिनदेखि नै निकै कलात्मक,मौलिक तरिकारले काठहरु प्रयोग गरेर बनाइएको भवन रहेकाले यसको पुनः सदुपयोगका निम्ति सोच बनाएको प्रजिअ पौडेलले बताए । आफु जिल्लामा आएपछि त्यसको अबस्था हेरेर यहाँको माग र आश्यकता अनुरुप यसलाई अतिथि गृह नै बनाउन उचित देखेको पौडेलले बताए ।

गुल्मी जिल्लामा आउने अतिथिहरुको लागि सरकारी स्तरको कुनैपनि अतिथि गृह छैन् उनले भने, ‘यसलाई सुबिधासम्पन्न सरकारी स्तरको अतिथि गृह बनाउने सोच बनाएका छौं ।’ धेरै लामो समयसम्म प्रयोग बिहिन रहेछ प्रजिअ पौडेलले भने, ‘०७२ सालको भुकम्प पछि झनै चर्किएपछि प्रयोग गर्न पनि जोखिम भएपछि जिर्ण बन्दै गएको रहेछ ।’

सबै तिर महत्वको विषय रहेकाले राम्रो योजना बनाएर जाँदा बजेटको कुनै पनि अभाव नहुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अतिथि गृह निर्माणको निम्ति गृह मन्त्रालय अन्र्तगत पनि पहल भइरहेको पौडेलको भनाई छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बिग्रेभत्केका ऐतिहासिक पुरातात्वयिक महत्वका भवनहरु बनाउने कार्यक्रम रहेकाले भूत बंगलालाई अतिथि गृह निर्माणको निम्ति पनि पहल थालिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । राम्रो योजना बनाएर माथिल्लो निकाएसँग समन्य गरेर यसै आर्थिक वर्ष भित्र यसको सुरुवात गर्ने जिल्ला प्रशासनले कार्यालय गुल्मीले योजना बनाए प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारीका अनुसार हालै मन्त्रालयबाट यसको अबस्था र बनाउनको निम्ति डिजाइन लागत स्टेमेट समेत तयार गर्ने काम भइरहेका बताए । आवास गृह सकेसम्म पहिलै जस्तै तयार गर्ने गरि डिजाइन गरिने प्रजिअ पौडेलले बताए ।

भूत बंगला प्रमुख जिल्ला अधिकारी निवास नजिकै झण्डै ३० मिटर दुरिमा पर्दछ । भूत बंगलालाई सरकारी स्तरको अरु कुनै कार्यालय या अतिथि गृह नै बनाउनु पर्नेमा जोड दिएका छन् । गेष्ट हाउस टोलबाट हाल भूत बंगला टोल बन्दा त्यस स्थानका स्थानिय समेत चिन्ति छन् ।

तम्घासमा सुबिधा सम्पन्न होटलहरु पनि नहुदा सरकारी स्तरको अतिथि गृह नै आबश्यक रहेको यहाँका स्थानिय को पनि जोड रहेको छ । जिल्ला सदरमुकाम तम्घासमा ठूला होटलहरु खुल्ने भन्दा पनि भएका होटलहरु बन्दा हुदै गएका छन् ।

हालै जिल्ला सदरमुकाम तम्घासमा रहेका १५ वटा होटलहरु बन्द भइ सकेका छन् । तम्घासमा रहेका एकआद होटल बाहेक सबै स–साना होटलहरु रहेका छन् । जिल्ला सदरमुकाममा बिशिष्ट पाहुना आए केहि होटल बाहेक राख्ने सुबिधासम्पन्न होटलहरु छैनन् । त्यसैले पनि तम्घासमा सरकारी तबरको अतिथि गृहको आबश्यक मानिन्छ ।

तत्कालीन समयमा जिल्ला सदरमुकाममा कुनैपनि त्यस्ता बिशिष्ट बस्ने खाने खालका होटलहरु नहुँदा अतिथि राख्नको निम्ति राज्यले धेरै रकम खर्चेर अतिथि आवास गृह निर्माण गरेको हो । आवास गृह निर्माणसँगै केही वर्ष प्रयोगमा पनि खासै प्रभावकारी भने नभएको स्थानीयको भनाइ छ । तर, हाल पछिल्लो समय यता मान्छे पनि नबस्ने जुन उदेश्यले निर्माण भयो त्यो पनि नहुँने मर्मत र प्रयोगबिहीन भएसँगै आवास गृह भूत बंगला बनेको छ ।

तत्कालीन समयमा तम्घास लगायत गुल्मी जिल्लामै उत्कृष्ट मानिने उक्त आवास गृहमा निकै मेहनत र कलात्मक तरिकाले निर्माण भएको स्थानीयवासी बताउँछन् । आवास गृह निर्माणको तत्कालीन लागत फेला पर्न नसकेपनि उक्त समयमा धेरै रकम लगाएर निर्माण भएको स्थानीयवासीको भनाइ छ ।

आवास गृह दुईवटा तल रहेको छ । गृहको प्रत्येक कोठामा काठमाथि ढुंगा र त्यसमाथि पलस्टर गरेर निकै बलियो र कलात्मक बनाइएको थियो । तत्कालीन समयमा बाग्लुङ्गका ठेक्दारले ठेक्का लिएर निर्माण भएको भवनमा जिल्लाको इस्मा लगायत धेरै ठाउँबाट बहुमूल्य काठहरु ल्याएर आवास गृह बनाइएको भनाइ छ ।

उक्त ठेक्दारले भवन पूरा स्टेमेट अनुरुप काम गर्दा गर्दै घाटा खाएको भन्ने स्थानीयवासी बताउँछन् । आवास गृहमा भान्सा कोठा, हल र अन्य अतिथि कोठाहरुसँगै ८ वटा रहेका छन् । तत्कालीन समयमा पनि हालको जत्तिकै कलात्म र अत्याधुनिक तरिकाले निर्माण भएको आवास गृहमा गुल्मी जिल्लामा आउने केही बिशिष्ट अतिथिहरु बसेको पाइन्छ ।

जहाँ हेलेन शाहदेखि मन्त्रीसम्म बस्थे
०४२ सालमा हेलेन शाहादेखि नेपालका बिभिन्न मन्त्री तथा अन्य बिशिष्ट पाहुनाहरु आएर बस्ने गरेको लामो समयसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीमा रहेका नासु भुवन बस्नेतले बताए । उनका अनुसार तत्कालीन समयमा तम्घासमा बिशिष्ट पाहुना राख्नको लागि निकै समस्या हुने गरेकाले पाहुना राख्नको लागि अतिथि आवास गृह निर्माण भएको बताए ।

आवास गृहलाई निर्माण भएयता ०४९ सालमा पुनः निर्माण गरिएको थियो । राज्यबाट संरक्षण मर्मतमा कुनै पनि रकम नआएपनि पछि ०५४ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले कार्यालयको लागि खर्च गर्न पाउने स्टेशनरी खर्च कटाएर मर्मत गरेको नासु बस्नेतले बताए ।

जिल्ला प्रशासनमा कुनै त्यस्तो खर्च नभएपनि निकै मेहनत गरेर प्रजिअले मर्मत गरेको उनको भनाइ छ । त्यस यताको समयमा भने कुनैपनि मर्मत र प्रयोग, संरक्षणमा तर्फ ध्यान जान सकेको छैन् ।

जिल्ला प्रशासनको स्वामित्वमा रहेको आवास गृह भवन मात्रै ६ आना ३ पैसा क्षेत्रफलमा रहेको छ । आवास गृह रहेको स्थानमा अन्य खाली ठाउँसमेत रहेको छ । पछिल्लो समय यता आवास गृह प्रयोगबिहीन बन्दै गएसँगै तारबार गरेर राखिएको छ ।

बिशिष्ट अतिथि राख्नको लागि निर्माण भएको आवास गृह केही समयसम्म प्रयोग भएपनि सोचे अनुरुप प्रयोगमा नआउँदा र वरिपरी घरहरु पनि नभएकोले डराउने अवस्थामा रहेकाले भूत बंगला भन्ने गरेको स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थीले बताए ।

‘अतिथिहरुको लागि भनेर निर्माण भएको थियो,’ पन्थीले भने ‘खासै मान्छे पनि नबस्ने र त्यस वरिपरी घरहरु पनि नहुँदा भूत बस्ने जस्तो भयो भनेर भूत बंगाला नाम रह्यो ।’

क्याम्पसदेखि एनजीओ कार्यालयसम्म
अतिथिको लागि निर्माण गरिएको आवास गृहमा केही समय बिभिन्न कार्यालयहरु बसेको पनि भनाइ रहेको छ । ०२९ सालमा गुल्मीइन्टर क्याम्पस केही समयको लागि सोही भवनबाट सञ्चालनमा आएको पूर्व क्याम्पस प्रमुख पन्थीले बताए ।

क्याम्पसको कार्यालय, किरण पुस्ताकालयमा राखिएको र पढाइ केही समय त्यसआवास गृहबाट सञ्चालन भएको पन्थीले बताए । हाल उक्त क्याम्पस बन्द भएको छ । क्याम्पससँगै जिर्ण अवस्थामै तत्कालीन तम्घास गाविस पनि केही समयसम्म त्यहीँ आवास गृहमा राखिएको थियो ।

गाविससँगै पछि रेसुङ्गा नगरपालिका पनि केही समय त्यही ँबाट सञ्चालनमा आएको थियो । केही समयसम्म सेतो गुँरास भन्ने संस्था पनि बसेको पाइन्छ । पछिल्लो केही वर्षसम्म कर्मचारीहरु बस्ने गरेपनि आवास गृह केही भाग चर्किएपछि हाल भने प्रयोगबिहीन अवस्थामा छ ।

आवास गृह प्रयोगबिहीन र वरिपरी घरहरु नबनुन्जेल त्यस स्थानमा प्रेमी प्रेमीकाहरु भेट हुने स्थलको रुपमा पनि परिचित मानिथ्यो । तर, पछिल्लो समय यता त्यस स्थान परिपरी घरहरु बनेका छन् । देश संघीयता कार्यान्वयनसँगै जिल्लाको अधिकार गाउँपालिका केन्द्रित पुगेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेका कार्यालयहरुको अधिकार नगर र गाउँपालिका केन्द्रित हुँदा जिल्लाका सरकारले लाखौ खर्चेर निर्माण गरेका भवनहरु अन्य प्रयोजनमा नल्याए जिल्ला सदरमुकाममा रहेका कार्याहरुको अवस्था पनि त्यस्तै बन्ने छ ।