व्यवसायीक वातावरण नभए भोक हड्ताल गर्ने व्यवसायीको चेतावनी

0
Shares

काठमाडौँ ।
काठमाण्डौंमा मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरि काठमाडौँ मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ मल व्यापार संघ’ले आन्दोलन गर्ने जनाएको छ ।
ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिविधि गरेको जनाएकी छन् ।
कोषले शिव लक्ष्मी कोजु संगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पाेरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न चेतावनी दिएका छन् ।
करोडौंको लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोल कबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।
वषौं देखी मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।
ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

संघका सल्लाहकार उज्जलजंग शाहले व्यवसायीको तर्फबाट सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने र अझै पनि समस्या समाधानमा पहल नभए काठमाडौं मलमै भोक हड्ताल गर्ने चेतावनी दिएका छन् ।