भारतबाट भित्र्याईएको करिब पचास हजार अण्डा नष्ट

0
Shares

कृष्ण आचार्य, चितवन ।
एक समय भारतीय कुखुराजन्य वस्तुको अवैध आयातको बिगबिगी थियो । नेपालका पोल्ट्री व्यवसायीहरुको सक्रियतामा अवैध भारतीय कुखुराजन्य वस्तु आयात ठप्प नै भयो । अहिले फेरी नेपालका केही व्यवसायीहरु अवैध रुपमा भारतीय कुखुराजन्य वस्तु नेपाल ल्याउन सक्रिय भएका छन् ।

मंगलबार भारतबाट ल्याईएको करिव ५० हजार चल्ला उत्पादन गर्ने अण्डा यहाँका ह्याचरी उद्योगीहरुले नियन्त्रणमा लिन सफल भए । गोप्य सूचनाको आधारमा उद्योगी व्यवासीहरु नै सक्रिय भएर खोजतलास गर्दा गैंडाकोट क्वारेन्टाईन चेकपोष्ट सो अवैध अण्डा बोकेका गाडी नियन्त्रणमा लिन सफल भयो ।

चितवनको भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले १९ हजार ५ सय गोटा अण्डा र परासी बर्दघाटको त्रिवेणी संगम ह्याचरीले ल्याएको ३० हजार गोटा अवैध भारतीय अण्डा नष्ट गरिएको हो । चितवनको मिलन ह्याचरीका संचालक कमल पौडेलले भारतबाट नै अण्डा ल्याएको स्वीकार गरेका छन् ।

भरतपुर ५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको २० हजार अण्डा र वर्दघाटमा रहेको त्रिवेणी संगम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष क्रृषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अबैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उनले बताए । दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचर सेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो ।

ह्याचरी उद्योग संघका केन्द्रिय र जिल्ला पदाधिकारीहरुको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अबैध रुपमा अण्डा ल्याउने गरेको भेटिएको पौडेलले जानकारी दिए ।

नेपालमा एक खर्ब बढी लगानी रहेको ह्याचरी उद्योगलाई धराशायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्राइएको पौडेलले बताए ।

नेपालमा आत्मनिर्भर उद्योगलाई धराशायी बनाउदै नेपालमा रोगको प्रकोप फैलाउन अण्डाको अबैध कारोबार बढेको उनको भनाई छ । नेपालमा २ सय १५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सय बढी उद्योग छन् । प्रतिहप्ता ३० हजार बोइलर चल्ला र ३ लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग संघले जानकारी दिएको छ ।