आठबिसकोटको खदी जिल्लाकै पहिलो मदिरामुक्त वडा

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमलाई मदिरा निषेधित जिल्ला बनाउने निर्णय अनरुप आठबिसकोट नगरपालिकाले सबै भन्दा पहिले निर्णय कार्यान्वन गरेको छ । गत माघ ५ गते जिल्ला स्तरमा भएको निर्णय अनुसार हरेक स्थानीय तहले अभियान चलाइरहेका छन् ।

फाल्गुन १६ गतेदेखी मद्यिरा बिक्रि बितरण तथा आयातमा रोक लगाउने जिल्लाका सबै स्थानीय सरकारको निर्णयको कार्यान्वन गर्दै आठबिसकोटले वडाबाटै मदिरा मुक्त नगर बनाउन थालेको हो ।

मंगलबार आठबिसकोट नगरपालिकाको वडा नं ३ खदी लाई मदिरामुक्त घोषणा गरिएको छ । वडा कार्यालय र प्रहरीको नेतृत्वमा महिला समूह, आमा समूह शिक्षक विद्यार्थीको पहलमा घरेलु मदिरा नष्ट गरिसकेको र नयाँ उत्पादन रोकिएको जनाइएको छ । लामो समयसम्मको छलफल, अन्तरक्रियापछि वडालाई मदिरा मुक्त गरिएको वडा कार्यालयले जनाएको छ  ।

मदिरा विक्री वितरणको इजाजत लिएकाहरू पनि मदिरा विक्री वितरण नगर्न सहमत भएपछि वडालाई मदिरामुक्त घोषणा गरिएको वडा नं ३ का अध्यक्ष केशरमान बि.कले बताउनुभयो । आफु निर्बाचित भएदेखी वडालाई मदिरा निषेधित बनाउन पहल थालेको र जिल्ला स्तरको निर्णयले झनै सघाएको वडा अध्यक्ष बिकले बताउनुभयो ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदी जिल्लाकै पहिलो मदिरा मुक्त भएको छ ।