लटिनाथ मन्दिरको जमीनमा रातारात अवैध संरचना निर्माण

0
Shares

“मोटो रकम चलखेल भएको हुनसक्ने संकेत”
मनोज भट्ट, महेन्द्रनगर ।
दार्चुलाको मार्मा गाउँपालिका लटिनाथमा खेल मैदान निर्माणको शिलशिलामा सरकारी जमिन मास्दै रातारात अवैध संरचना निर्माण भइरहेका छन् । लटिनाथ मन्दिरको नाममा रहेको कित्ता नं. ६१६ को जमिन स्थानीय व्यापारी तथा व्यवसायीबाट अतिक्रमण भइरहेको हो । उक्त मन्दिर(गुठी) को नाममा रहेको जमिनमा खेल मैदान ‘लेभलिङ’ गर्न कमलराज जोशीको अध्यक्षतामा एक समिति बनेको छ ।

खेल मैदानको ‘लेभलिङ’ तथा निमार्ण कार्य भइरहेकै समय पारेर धमाधम अवैध भवन तथा संरचना निर्माण कार्य पनि भइरहेको छ । उक्त खेल मैदानको डिल पट्टी रहेका कच्ची संरचनाहरु भत्काउदै रातारात अवैध पक्की भवन निर्माण कार्यले तिव्रता पाएको छ । झण्डै ५० कच्ची पसल रहेको उक्त स्थानमा खेल मैदान निर्माण गर्न प्रयोग गरिएका जेसिबी लगाउदै रातारात पक्की संरचना अर्थात पसल निर्माण भइरहेका छन् ।

दिनको समयमा खेल मैदानको निर्माण र रातीको समयमा सरकारी जमिन मास्दै पक्की संरचना निर्माण गरिनुले, यो कार्यमा कतै उक्त समितिका अध्यक्ष जोशीको मिलोमतो भइरहेको हुन सक्ने प्रश्न खडा भएको छ । सरकारी जमिन अतिक्रमणका लागि पहिले रहेका ५० कच्ची संरचना रातारात भत्काउदै पक्की संरचना निर्माण हुनुमा स्थानीय निकाय देखि व्यापारी र उक्त समितिको समेत मोटो रकममा चलखेल भएको हुनसक्ने संकेत देखिएको छ ।

मन्दिर अर्थात गुठीको जमिनमा खेल मैदान निर्माणमा दुई जेसिबी र छँ ट्याक्टर प्रयोग गरिएका छन् । निर्माण स्थलमा रहेका रुखहरु समेत रातारात गायब हुँने गरेको स्थानीय व्यापारी विशाल सिंह धामीले बताए ।

मैदान निर्माण स्थल भन्दा टाँढा–टाँढा रहेका झण्डै ठुल्ठुला १० ओटा रुखहरु समेत रातको समयमा आरा लगाएर काट्दै गायब पारिएका छन् । ‘बेलुका राम्रै देखिने रुख विरुवाहरु बिहान हेर्दा देखिदैनन् । रुखका हांङ्गा–बिङ्गा देखि पात पतिङ्गर सम्म गायब पारिन्छ ।’ एक स्थानीय व्यापारीले भने ‘दिनमा खेल मैदान बनाउँछन् । तिनै समान ल्याएर रातारात पक्की दोकान ठड्याउछन् ।’

मार्मा गाउँपालिकाले उक्त खेल मैदान निर्माण गर्नका लागि ४ लाख ५० हजार रकम उपलब्ध गराएको छ, भने अन्य केहि रकम वडा कार्यालयले बेहार्ने स्थानीय पत्रकार दिनेश सिंहले बताए । एक हप्ता अगाडी देखि खेल मैदानको मर्मत तथा निमार्ण कार्य सुरु गरिएको छ । गाउँपालिका कार्यालय र वडा कार्यालयले उपलब्ध गराएको बजेटको झण्डै चारगुणा बढी खर्च लाग्ने देखिएको छ ।

खेल मैदान निर्माणका नाममा सरकारी जग्गा अतिक्रमण गर्दै धमाधम पक्की संरचना निर्माण गरिनुले सम्बन्धित निकायले तत्काल एक्सन लिदै अतिक्रमण रोक्नु र उक्त अवैध निर्माणमा रहेका संरचना भत्काउनु आवश्यकता रहेको पाइन्छ ।