ओस्कारमा ग्रीन बुक अब्बल: अभिनेता र अभिनेत्रीको अवार्ड रोमी र ओलिभियालाई

0
Shares

अमेरिकाको लस एन्जेलसमा आइतबार राति ९१औं संस्करणको ओस्कार एकेडेमी अवार्ड सम्पन्न भएको छ। समारोहमा फिल्म ग्रीन बुक सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने यसले ३ ओस्कार एकेडेमी अवार्डलाई आफ्नो बनाएको छ।

ग्रीन बुकबाट महेरसाला अलीले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड चुमे भने यसले मौलिक पटकथाको अवार्ड पनि जितेको छ। मेक्सिकन फिल्म रोमाका लागि अल्फासो कुआरोनलाई उत्कृष्ट निर्देशकको अवार्ड दिइयो भने रोमा सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म सावित भएको छ। यसले छायांकनको अवार्ड पनि चुमेको छ।


फिल्म बेहोमियन रेप्सोडीबाट रोमी मालेक उत्कृष्ट अभिनेता र द फेवरेटबाट ओलिभिया क्यामलेनले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन्। रोमी पहिलोपटक ओस्कारमा यो विधाको मनोनयनमा परेका हुन्। ओलिभिया पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन्। ओलिभियाले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन्।

सहअभिनेत्रीको अवार्ड इफ बिल स्ट्रिट कुड टकबाट रेजिना किङलाई दिइएको छ भने उत्कृष्ट मौलिक गीतको अवार्ड फिल्म अ स्टार इज बर्नमा समावेश श्यालो बोलको गीतबाट गायिका तथा नायिका लेडी गागाले चुमेकी छिन्। गागाको यो पहिलो ओस्कार अवार्ड हो।


त्यसैगरी ओरिजनल स्कोर, प्रोडक्सन डिजाइन र कस्ट्युम डिजाइनको अवार्ड फिल्म ब्ल्याक प्यान्थरले जितेको छ भने एनिमेटेड फिचर फिल्म स्पाइडर म्यान ः इन्टु द स्पाइडर भर्स, डकुमेन्ट्रीको अवार्ड फ्रि सोलो, साउन्ड मिक्सििङ, साउन्ड एडिटिङ र सम्पादनको अवार्ड बेहोमियन रेप्सोडीले, शृंगार र हेयर स्टाइलको अवार्ड भाइस, डकुमेन्ट्री सर्ट सब्जेक्टको अवार्ड भारतीय डकुमेन्ट्री पिरियड इन्ड अफ सेन्टेन्सले पाएको छ।

भारतले एक दशकपछि ओस्कार चुमेको हो। भिजुअल इफेक्टको अवार्ड फस्ट म्यान, लाइभ एक्सन सर्ट फिल्म स्किन, अडेप्टेड स्क्रिन प्लेको अवार्ड ब्ल्याकलन्स म्यानले र एनिमेटेड सर्ट फिल्मको अवार्ड बाओले चुमेको छ।