कार्यालय सहयोगीको भरमा पशु सेवा कार्यालय

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको एक पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ५ च्युरामा रहेको पशु सेवा कार्यालय विगत एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेको हो । कार्यालय सहयोगी खिमेबहादुर चन्दले एक वर्षदेखि प्राविधिक बनेर औषधि तथा पशु चौपायको उपचार गर्दै आइरहेका छन् । पशु प्राविधिक सरुवा भएर अन्यत्र गएपछि नयाँ कर्मचारी नआउदा आफुले प्राविधिकको रुपमा काम गर्दै आइरहेको चन्दले बताए ।

उनले भने एउटा त यहाँ कर्मचारी नै आउन मान्दैनन् आए पनि नगरपालिकाको शाखा कार्यालयमा बस्ने गर्छन् यतातिर आउनै आउँदैनन् । नगरपालिकाको कार्यालय र पशु सेवा कार्यालय टाढा भएको पनि नगरपालिकामा आएका कर्मचारीले पशु सेवा कार्यालयसम्म आउन समस्या मान्ने गरेको चन्दले बताए । दैनिक रुपमा १० देखि १५ जनासम्म सेवाग्राही पशु सेवा कार्यालयमा आउने गरेको र तीनलाई आफूले औषधि दिने गरेको उनको भनाई छ । आफू पशु सेवा प्राविधिक नभए पनि अनुभवका आधारमा औषधि दिँदै आइरहेको उनको भनाई छ ।

आठ महिनादेखि तलव भत्ता पाउनबाट वञ्चित विगत पाँच वर्षदेखि करारमा काम गर्दै आइरहेका चन्दले भने विगत ८ महिनादेखि तलव भत्ता समेत पाउन सकेका छैनन्। तत्कालिन जिल्ला पशु कार्यालय कार्यालयबाट करारमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आइरहेका चन्द कार्यालय खारेजीसँगै तलवभत्ताबाट वञ्चित भएका छन् ।

उनले भने विगत एकवर्षदेखि प्राविधिक बनेर तलवविना नै काम गर्दै आइरहेको छु । प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भनाई फरक फरक भएकाले झनै समस्या भएको उनले बताए । नगर प्रमुख गोविन्द पुनले संघले करारमा राखिएका कर्मचारी हटाउनु भनी परिपत्र पत्र गरेका समस्या भएको बताए । आफ्नै आन्तरिक स्रोतबाट तलव खुवाउछौं भन्दा पनि संघले नमाने पछि करारमा काम गर्दै आइरहेका कर्मचारीलाई समायोजन गर्न समस्या भएको बताए ।