लामोसाँगु चरिकोट सडक विस्तारमा धुलोको समस्या

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट खण्डमा सुरु भएको सडक विस्तारको क्रममा निर्माण व्यवसायीले लार्पावाहि गरेको कारण अत्यधिकमात्रामा धुलो उड्ने समस्या भएपछि कामदार र स्थानिय वासिन्दामात्र नभै बिभिन्न सवारी साधानमा यात्रागर्ने यात्रुहरु समेत समस्यामा परेका छन् ।

धुलोमा यात्रा गर्नु पर्दा अधिकांश यात्रुहरुले गम्भीर स्वास्थ्य समस्या भोग्नु परेको पीडितहरुको गुनासो छ । सडक विस्तारमा संलग्न निर्माण व्यवसायीले अत्यधिक धुलो उड्ने समस्या देखिएपछि नियमीत रुपमा पानी हाल्नु पर्ने ब्यवस्था ठेक्का सम्झौताकै क्रममा गरिएको भएपनि उक्त व्यवस्थालाई वेवास्ता गर्दै मानव स्वास्थ्यमा गम्भीर समस्या निम्ताउने काम गरिरहेको यात्रुहरुले आरोप लगाएका छन् ।

उक्त सडक हुर्दै सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका ठाँउमा साना, ठूला गरी दैनिक चार÷पाँच सय सवारी साधन आवत जावत गर्दै आएका छन् ।

त्यसरी यात्रागर्ने सवारी साधनका कर्मचारी र यात्रुहरु गन्तव्यमा पुग्दा धुलाका कारण नचिनिने अवस्था बन्ने गरेको छ । लामोसाँगु जिरी सडकमा यात्रा गर्दा धुलाका कारण कपडामामात्र समस्या हुने नभै रुघा, खोकी, दम, आँखा पाक्ने जस्ता समस्या समते निम्तने गरेको पीडित यात्रुहरुको गुनासो रहेको छ ।
रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य सडक विस्तारको क्रममा भएको हेलचेक्राईले अत्यधिकमात्रामा धुलो उड्ने समस्या रहेको र त्यसले यात्रुसंगै सवारी साधनका कर्मचारीहरुको स्वास्थ्यमा गम्भीर असर गरिरहेको बताउछन् ।

मानव स्वास्थ्यमा गम्भीर असर

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल धुलोका कारण मानव स्वास्थ्यमा धेरै कुरामा गम्भीर असर पुग्ने बताउछन् । धेरै मानिसले धुलो, धुवालाई सामान्य रुपमामात्र लिएको पाईन्छ तर मानव स्वास्थ्यमा यसको असर गम्भीर र भयावह छ – डाक्टर दंगालले भने ।

धुलोका कारण दमका विरामी सबैभन्दा बढी प्रभावित हुने, निमोेनियाको जोखिम रहने, बिभिन्न रोगहरुमा संक्रमणको खतराका कारण सामान्य औषधिले नछुने, आखाँको हेर्ने शक्तिमा असर गर्ने, रुघा, खोकी, जरोको जोखिम बढाउने डाक्टर दंगाल बताउछन् ।

झण्डै तीन बर्ष अघि सुरु भएको लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट खण्डको सडक विस्तारको काम सोचेजस्तो ढङ्गले अगाडि बढ्न नसक्दा समस्या बढ्दै गएको छ । सडक डिभिजन कार्यालय चरिकोटले लामोसाँगु चरिकोट सडक विस्तार अन्र्तगत लामोसाँगु मुडे २५ किलोमीटर र मूडे चरिकोट ३० किलोमीटर सडक विस्तारको काम गरिरहेको दुबै निर्माण कम्पनिलाई निर्माण अवधिमा नियमीत पानी हाल्न निर्देशन दिएको र सोमवारबाटै पानी हाल्न सुरु गर्ने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख एवं सडक विस्तार आयोजनाका प्रमुख धमेन्द्र कुमार झाले बताए ।

केहि समय अघिसम्म नियमित पानी परिरहेकोले निर्माण व्यवसायीले पानी नहालेको बताएका छन् । अब सोमवारबाट नियमीत पानी हालेनन् भने आवश्यक कार्वाहि गरिन्छ – प्रमुख झाले भने ।