‘स्वरोजगारको आधार सहकारी’

0
Shares

रविन घिमिरे, काठमाडौँ
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्माले स्वरोजगारको आधार नै सहकारी भएको बताउनुभएको छ । धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कीर्तिपुरको चोभारमा शनिबार गरिएको वनभोज कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

वनभोजलाई सम्बोधन गर्दै उहाँले सहकारीमा बचत गरेको रकमले विभिन्न पेशा, व्यावसाय र उद्यम क्षेत्रमा लगानी गरेर हरेक व्यक्ति स्वरोजगार बन्ने सजिलो माध्यम भएकाले धान्याञ्चल सहकारी छिट्टै बैंकको रुपमा परिणत गर्न सुझाव दिनुभयो । उहाँले सबै व्यक्ति सहकारीमा आबद्ध भएर बचत भएको रकमले कृषि, पशुपालन र उत्पादन क्षेत्रमा लगानी गरी आत्मनिर्भर उन्मुख हुनुपर्ने बताउनुभयो ।

 

सहकारीका अध्यक्ष भविश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र–२ का सभापति अच्युत गौतमले सहकारीबाट प्रत्यक्ष रुपमा धेरै फाइदा हुने हुँदा यसमा सबै आबद्ध हुन आग्रह गर्नुभयो ।

वनभोजमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, कांग्रेस नेता हिम्मत टण्डन, महिला संघकी केन्द्रीय सदस्य अनिता ज्ञवाली, नेपाल तरुण दल अर्घाखाची–काठमाडौ सम्पर्क समितिका अध्यक्ष अर्जुन पोखरेल, तरुण नेता कपिल पोखरेल, शिवदेव पाण्डे, नेविसंघका पूर्व जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पंथी, प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसीलगायत धान्याञ्चल सहकारीका अधिकांश पदाधिकारी, सदस्य र शेयर सदस्यको उपस्थिति रहेको थियो ।

कलाकार प्रेमप्रकाश वली, अमृता लुङगेली मगर, विमलराज क्षत्रीले उपस्थित सबैलाई गीत र नृत्यबाट भरपुर मनोरञ्जन दिएका थिए ।