फाईनलमा पुलिस र दाफिन्स भिड्ने


यमलाल भुसाल, बुटवल
बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्ड कपको सोमबार हुने फाईनल प्रतिस्पर्धामा समुह ‘क’ बाट दाफिन्स एफसी क्यामरुन र समुह ‘ख’ बाट नेपाल पुलिस क्लव भिड्दैछन् ।

सेमिफाईनलमा लाली रुपन्देही ११ लाई दुई शुन्यमा पाखा लगाएको दाफिन्सको क्यामरुन र च्यासल युथ क्लवलाई ३–१ गोलअन्तरले पाखा लगाएको नेपाल पुलिस क्लवले उपाधिका लागि आ–आफ्नै रणनीति बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।

फिजिकल्ली राम्रो देखिएको क्यामरुन बिरुद्ध नेपाल पुलिस क्लवले आक्रामक खेल खेल्ने र जतिसक्दो चाँडो स्कोर निकाल्ने रणनीति लिएको छ । पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुनलाई २१ औं तिलोत्तमा गोल्ड कपको उपविजेतामा सिमित गराउनका लागि नेपाल पुलिस क्लवले आक्रामक खेल खेल्नुका साथै विपक्षीलाई सेटअप हुन नदिने गरी खेलको रणनीति बनाएर अंगाडी बढेको नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले बताउनु भयो ।

यो वर्षको खप्तड कपको विजेता पुलिसले तिलोत्तमा गोल्ड कपको उपाधि पुन उचाल्ने पक्का भएको प्रशिक्षक थापाले बताउनु भयो । यस अंगाडी पुलिसले तिलोत्तमा गोल्डकपको २०३५ सालमा तेस्रो, ०५१ मा नवौं, ०५२ को दशौं र ०५५ को १३ औं संस्करणको उपाधि उचालिसकेको छ भने गत वर्ष भएको २० औं संस्करणमा उपविजेतामा समेटिएको थियो । ‘फूटवलमा एभ्रिगेम न्यू गेम हो ।’ प्रशिक्षक थापाले भन्नुभयो–‘हाम्रो टिम फिजिकल्ली पनि राम्रो छ, टेक्निकल्ली पनि राम्रो छ ।’

त्यसो त यस वर्षको दुई वटा प्रतियोगिताको उपाधि उचालिसकेको क्यामरुनले पनि आफूले जित्ने दावी गरेको छ । क्यामरुनका टिम क्याप्टेन जो अङगोलाले फिल्ड चिनेको, शारीरिक ससक्तता र खेलाडी बिचको तालमेल मिलेका कारण आफूले खेल जित्ने दावी गर्नुभयो ।

यस अंगाडी धरानको बुढासुब्बा कपमा सेमिफाईनलमा पुलिससंग भिडेको क्यामरुनले २–० मा समेट्दै उक्त प्रतियोगिताको समेत उपाधि विजेता बनेको थियो । फिजिकल्ली स्ट्रोङ् देखिएको क्यामरुनले क्वाटरफाईनल तथा सेमिफाईनलमा भएका कमजोरीलाई सुधार गर्ने र विपक्षीको खेल हेरेर सोही अनुसार रणनीतिक खेल खेल्ने तयारी गरेको छ । आयोजक रुपन्देही ११ संगको खेलमा क्यामरुनका यिनिक ववोना रेड कार्ड पाएका थिए । टिम क्याप्टेन जो अङगोलाले रेड कार्ड पाउनु टिमकै लागि नराम्रो भएको बताउँदै फाईनलमा त्यस्ता गल्ती नहुने गरी प्रस्तुत हुने पनि बताउनु भयो ।

प्रतियोगितामा उपाधि विजेतालाई ८ लाख ८० हजार र उपविजेतालाई ५ लाख ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै विधागत रुपमा पाँच जना खेलाडीलाई जनही २५ हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फूटवल संघका महासचिव लोक पुनले बताउनु भयो । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप स्कुटी प्रदान गरिने छ ।

पुलिसले उचाल्ला त पाँचौं उपाधि ?
यस क्षेत्रकै लोकप्रिय बनेको तिलोत्तमा गोल्डकप पुरानो प्रतियोगिता हो । बिभिन्न आरोह अवरोह हुँदै २१ औं संकरणको खेल सञ्चालन भईरहँदा उपाधिकालागि ४ पटक उपाधि उचालिसकेको नेपाल पुलिस क्लव र प्रतियोगितामा पहिलो पटक भाग लिएको दाफिन्स एफसी क्यामरुन प्रतिस्पर्धामा छन् । तर अंघिल्लो वर्षको उपाधि उचालेको थ्रिस्टार भने यो २१ औं संस्करणमा सहभागि भएन ।

तिलोत्तमा गोल्ड कपको सबैभन्दा बढी उपाधि ४ पटक नेपाल पुलिस क्लवले उचालेको छ भने तीन पटक कालिका स्पोर्टिङ् क्लव बुटवलले उचालेको छ । त्यस्तै आयोजक रुपन्देही ११ र नेपाल आर्मी क्लवले समान दुई पटक उपाधि उचालेका छन् । त्यसैगरी सिद्धार्थ खेलकुद परिषद रुपन्देही, ववई फर्टिलाईजर मुम्बई, जनकपुर चुरोट कारखाना लि., आरएनएसी काठमाण्डौ, महिन्द«ा एण्ड महिन्द«ा मुम्बई, फ्रेण्ड्स क्लव काठमाण्डौ, जावलाखेल युथ क्लव काठमाण्डौ, सिएमजी संकटा र थ्रिस्टार काठमाण्डौले एक–एक पटक उपाधि उचालेका छन् ।