खाद्यान्नको विषादि नियन्त्रण गर्न जोड

0
Shares

काठमाडौं, (नेस)
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विभिन्न बालीनालीमा प्रयोग हुने विषादि र रासायनिक मलको प्रयोग बाहिरबाट सिकेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ ।

राजधानीको भृकुटीमण्डपमा जारी खाद्य मेलाको आइतबार समापन गर्दै मन्त्री खनालले भन्नुभयो–‘विषादिको र रासायनिक मलको प्रयोग गर्नु हानिकार छ । मन्त्रालय नियमनकारी निकाय भएकाले यस्ता जनचेतना मुलक कार्यक्रममार्फत सजग र सतर्क बनाउने भनेर छलफल गरिरहेका छौं।’ खाने बानीमा सुधार गर्नुपर्ने भन्दै मन्त्री खनालले खान नजानेर पनि हामीले आफंैलाई रोगी बनाइरहेको बताउनुभयो । हाम्रो देशमा उत्पादित वस्तु आफैंमा अर्गानिक छन् । अलिकति सचेत हुने र जनचेतना गर्न सकियो भने धेरै प्रगति गर्न सक्छौं मन्त्री खनालको भनाइ थियो ।

‘पानी, दँध, तेल र अन्य खाद्य वस्तुमा हामीले यो अभ्यास गरिरहेका पनि छौं, परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं ः असर पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको सहआयोजनामा फागुन १० गतेदेखि मेला शुरु भएको थियो ।

खानेबानी सुधारका लागि मुलुकका विभिन्न स्थानमा पाइने र कम प्रचलनमा रहेका पोषिला खाद्य वस्तु र परिकारको प्रचारप्रसार गर्ने, खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारको प्रवद्र्धन गर्ने, स्वदेशी खाद्य उद्यमी तथा व्यवसायीबाट उत्पादित खाद्य वस्तुको प्रवद्र्धन गर्ने लक्ष्य रहेको थियो ।