अपहरणपछि हत्या गरिएको आशंकामा ४ जना पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
बाबु छोरालाई अपहरण गरी बाबुलाई हत्या गरेको आशंकामा भक्तपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श बस्ने २६ वर्षीय निकेश भुजु शनिबार विहान ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत गर्न ) भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् ।

त्यस लगत्तै खोजतलास गर्दा प्रहरीले बेलुकी गाडी भित्रै निकेशलाई अचेत अवस्थामा ब्रमायाणीमा फेला पारेको थियो । उनलाई भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।खोजीको क्रममा गाडीसहित केही व्यक्तिहरु भक्तपुर नगरपालिका(८ लिवालीतर्फ गएको थाहा भएपछि प्रहरीले पिछा गरेको थियो । लिवालीमै प्रहरीले गाडी रोक्न खोज्दा ती व्यक्तिहरू ब्रमायणी पुगेर गाडी र निकेशको छोरालाईसमेत छोडेर भागेका थिए ।

गाडीमा हेर्दा निकेश अचेत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताउनुभयो ।निकेश अचेत अबस्थामा ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

निकेशसँग दिनभर फोन सम्पर्क हुन नसकेपछि श्रीमती सृजन ले प्रहरीकहाँ दिएको मौखिक उजुरीका आधारमा खोजतलास गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन बाला, हापुर गाउँपालिका–४ बस्ने १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ ट्याङथली घर भई हाल चाँगुनारायण नगरपालिका –९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २१ वर्षीय सुकु भन्ने राज बनमाला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो ।

उनीहरु भक्तपुर–८ लिवालीतर्फ भागेको देखिएकाले सो गाडीको पिछा गर्दै जाँदा निकेशको छोरालाई छाडी भागेको र गाडीभित्र हेर्दा निकेश अचेत अवस्थामा रहेकाले तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकद्वारा मृत रहेको बताएको प्रहरीले जनाएको छ ।

गाडीभित्र शंकास्पद अवस्थामा घटना भएको देखिएकाले पक्राउ परेकामाथि गंभीर रुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मृतकले अत्याधिक लागूऔषध सेवन गरेको भनिए पनि उनीसँगै गाडीमा रहेका व्यक्तिहरु प्रहरी देखि भागेकोले घटना शंकास्पद भएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । घटना शंकास्पद रहेको र निकेशलाई उपचारका लागि अस्पताल लैजान लागेको भए उनीहरु भाग्नु नपर्ने प्रहरीको आशंका छ ।