इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा


सानफ्रान्सिस्को ।्
बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ ।

उहाँले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताउनुभएको छ । ‘अमेरिकी सेकुरिटी एण्ड एक्चेन्ज कमिसन’मा रहेको फाइल अनुसार उहाँको राजीनामा फेब्रुअरीको अन्त्यपछि कायान्वयनमा आउनेछ ।

उहाँले राजिनामाबारे प्रष्ट पार्दे लेख्नुभएको छ, “मेरा लागि १३ बर्षको समय असाधारण रह्यो । म ट्वीटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु साथै मैले अन्य काममा समय दिनु परेकोले यसबाट छुट्टिएको छु ।”

उहाँ हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत रहनुभएको छ । विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गर्नुभएको थियो ।

विलियम्सले सन् २०११ मा ट्वीटर छोडेको भएपनि अहिलेसम्म कार्यसमितिका सदस्यका हैसियतमा रहनुभएको थियो । सन् २०१७ मा उहाँले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरिसक्नुभएको छ ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिँदै ट्वीटर कम्पनीको सुन्दर भविष्यको कामना गर्नुभएको छ ।
रासस