भेनेजुयला सङ्कटः सरकारद्वारा कोलम्वियासँगको कूटनीतिक सम्बन्ध तोडिएको घोषणा


भेनेजुयला ।
भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडपहरू भएका छन् ।

सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको छ भने गत महिना सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ह्वाँ गुएइदोले देशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको चरम अभाब भएका कारण सहयोग भित्राउन आफ्ना समर्थकलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति मदुरोद्वारा काराकासमा समर्थकलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा भएका झडपलाई युद्ध भन्न नसकिने बताउनुभएको छ ।

मदुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुयलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडिएकोबारे भन्नुभयो, “मैले कोलम्विया सरकारसँगको राजनीतिक तथा कूटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु । भेनेजुयलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुयलाबाट फर्किउन् ।”

सहयोगस्वरूप आएको सामग्री भित्राउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्राउने क्रममा झडप भएको हो । झडप कोलम्बिया र ब्राजिल क्षेत्रमा चार जनाको मृत्यु भएको र करिब ३०० जना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन् । अश्रुग्यासको प्रभावका कारण कतिपय आन्दोलनकारीको आँखाको ज्योति गुमेको भन्ने खबरहरू पनि आएका छन् ।

सीमा क्षेत्रमा हिंसा बढेपछि राष्ट्रपति मदुुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ । राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ ।
भेनेजुयला र कोलम्बियाको सीमा क्षेत्रका केही यस्ता तस्वीरहरु सार्वजनिक भइरहेका छन् जसमा सुरक्षाकर्मीहरुले स्वयंसेवकहरुमाथि अश्रुग्यास प्रहार गरेका छन् ।

यस्तै प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन् । यो तनावको बीच भेनेजुयला र कोलम्बियाको सिमानामा तैनाथ भेनेजुयलाका केही सैनिकले चौकी छोडेर भागेको कोलम्वियास्थित मानवअधिकारवादी समूहहरूले बताएका छन् ।

कोलम्बियाको सीमामा रहेको एउटा पुलमा मदुरोका समर्थकले अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि अन्य चार त्यस्ता ट्रक भने कोलम्बियातर्फ नै फर्कन बाध्य भएका बताइएको छ ।

गुएइदोले शनिवारबाट दशौँ हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भित्राउने बताएपनि सेनाको कडा निगरानीले यो लगभग असम्भब बनेको छ ।

गुएइदोेले सरकारविरोधी अभियानमा ’दुर्लभ साहस’ देखाएको भन्दै सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूको प्रशंसा गरेका छन् ।

यसैबीच भेनेजुयलालाई सहयोग गरेको रूसले समेत मदुरोलेझैँ अमेरिकी उक्त राहतलाई सैन्य अतिक्रमण गर्ने ‘सहज र कपटपूर्ण’ बाटो भनेको छ । देशमा संकट रहेको स्वीकार नगरे पनि गत साता मदुरो सरकारले रुसबाट ३०० टन सहायता भेनेजुएला भित्राउने घोषणा गरेको थियो ।
रासस