नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस सम्पन्न

0
Shares

काभ्रेपलाञ्चोक ।
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष खनालले बिद्यालयको वार्षिक म्यागजिन ‘दिपीका’ ३०औं अङकको लोकार्पण गर्नुभयो । साथै उहाँले उत्कृष्ट खेलाडीहरु, उत्कृष्ट विद्यार्थीहरु, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकहरुलाई शील्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

 

कार्यक्रममा सङ्घकी अध्यक्ष खनालले प्रहरी स्कुलले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको चर्चा गर्दै नैतिक शिक्षामा आधारित शिक्षाको साथै शैक्षिक क्षेत्रमा स्थापित नवीनतम् सिद्धान्त, पद्धति र प्रविधिलाई स्कुलले अवलम्बन गरी बिद्यार्थीहरुको सर्वाङगीण विकासका लागि अझै प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

स्कुलका प्रिन्सीपल नवीन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा बिद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा स्काउट टीम लगायतका बिद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जीमन्यास्टिक लगायत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।