प्रदेशलाई स्थापित गराउन साझा एजेण्डा बनाएर जानु पर्नेमा जोड

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेशलाई सफल बनाउन सात वटै प्रदेशबीच समन्वय,सहकार्य र काम गराईमा एकरुपता जरुरी रहेको सरोकार वालाहरुले जोड दिएका छन् ।
अन्तर प्रदेश भ्रमणमा आएको गण्डकी प्रदेशका संसदीय टोलीको स्वागतमा प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको आयोजना गरेको स्वागत तथा अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै दुवै प्रदेशका सभामुख ,बिषयगत समितिका सभापति,सत्ता पक्ष र बिपक्षी दलका नेता,प्रमुख सचेतक तथा सांसदहरुले उक्त कुरामा जोड दिएका हुन् ।

संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार प्रदेश रहेको भन्दै उनिहरुले प्रदेशलाई बलियो बनाउने अभियानमा सात वटै प्रदेशबीच अन्तर प्रदेश समन्वय जरुरी रहेको औल्याएका छन । प्रदेश सफल भए मात्रै संघीयता सफल हुने बताउदै उनिहरुले संघीयता सफल बनाउन र संघीय सरकारबाट प्राप्त हुने प्रदेशका अधिकारहरु प्राप्तीको आन्दोलनमा साझा एजेण्डा बनाएर अगाडी बढ्नु पर्ने आवस्यकता औल्याएका छन ।

अन्तरप्रदेश भ्रमणले एक अर्को प्रदेशको अनुभव आदान प्रदानमा महत्वपूर्ण उपलब्धि हासील हुने बताउदै उनिहरुले भ्रमणले एक अर्को प्रदेशले गरेका राम्रा कामको अनुशरण गर्ने र कमि कमजोरीहरु भए सच्चिने मौका मिल्ने विस्वास व्यक्त गरेका छन ।

कार्यक्रममा प्रदेश नं ५ का सभामुख पुर्णबहादुर घर्तीले प्रदेशसभा र प्रदेश सरकारले गर्ने भुमिकाले संघीयता अफलता र असफलता तर्फ जाने भन्दै संघीयतालाई सफल बनाउन र गणतन्त्र र संघीयता कार्यान्वयनमा सत्ता पक्ष र बिपक्ष नभनि एउटै पक्ष बनेर अगाडी बढ्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले तिन वटै तहको अधिकार बाँडफाडको बिषयमा सबै मुख्यमन्त्रीहरुको धारणा एउटै भए जस्तै अधिकार प्राप्तिको आन्दोलनमा सबै प्रदेशसभाले साझा एजेण्डा बनाएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याएका छन ।
प्रदेशहरुबीच समन्वय सहकार्य जरुरी रहेको भन्दै उहाँले सहमतिमा संबिधान निर्माण गरे जस्तै संबिधानको कार्यान्वयन पनि सहमतिमै गर्नुपर्ने धारणा राख्नु भयो ।