अज्ञात रोगका कारण एकै विद्यालयका ३७ जना विद्यार्थि बिरामी

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको एक विद्यालयमा अज्ञात रोग देखिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ मयाङको जनजागृत आधारभुत विद्यालयका ३७ जना विद्यार्थि बिरामी भएको बिद्यालयले जनाएको छ । आइतबार बिहान विद्यालयमा आएर प्रार्थना गरिरहेका विद्यार्थीहरुमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रीङगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो ।

बिहिबारबाटै एकदुई जनामा यस्तो समस्या देखिएको तर आइतबार ठुलो सख्यामा विद्यार्थी बिरामी भएको उहाँले बताउनुभयो ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुदा उपचारमा समस्या आएको छ । भएको एउटा स्वास्थ्य इकाईको कर्मचारी पनि परीक्षा दिन जिल्ला बाहीर गएपछि झन समस्या भएको हो । विद्यालयबाट सबैभन्दा नजिक मानिने वडा नम्बर ५ हुकाममा रहेको स्वास्थ्य संस्था पुग्न पनि दुइ घण्टा समय लाग्छ ।

विद्यालयका प्रधानाध्यापक सेनले सीएमए अध्यन गरेको हुदा अहिले उहाँले नै विद्यार्थी चेक गरेर स्वास्थ्य इकाइमा उपलब्ध औषधी गरिरहनुभएको वडा नम्बर ६ का वडा अध्यक्ष टोपे सेन ठकुरीले जानकारी दिनुभयो । २७९ जना विद्यार्थी अध्यनरत रहेको उक्त विद्यालयमा अहिलेसम्म ३७ जना विद्यार्थी बिरामी भएका छन् । अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मिको टोली मयाङतिर आइरहेको वडा अध्यक्ष सेनले बताउनुभयो ।