विवाहको खर्च टुहुरा बालबालिकालाई

0
Shares

धनवीर दाहाल, रुकुम ।
बिहानको ११ बजेको थियो । सरस्वति माध्यामिक बिद्यालयको प्राङ्गणममा बिद्यार्थीहरु र स्थानीयहरु कोही बिशेष व्यक्तिको पर्खाइमा थिए । मानौ कुनै आमसभा तथा कुनै संघ संस्थाको अधिबेशनको तयारी जस्तै थियो । पाहुनाहरु, पत्रकार, बिद्यार्थी,स्थानीय आदी फरक फरक बस्ने ठाँउ बनाइएको थियो । धेरै तडक भडक थिएन ।

सामान्य ध्वजापतकाले सजिएको बिद्यालय प्राङ्गणममा एक जोडी टुप्लुक्कै पुग्यो । त्यो जोडी कोही नभएर रुकुम पश्चिम मुसिकोट नगरपालिका १ सल्ले निबासी नरेन्द्र बि.कको थियो । नरेन्द्र र उनकी पत्नी रिना राई बिच प्रगतिशिल विवाह तथा उनको बिवाहमा लाग्ने खर्च स्वरुप बिद्यालयलाई शैक्षिक सामाग्री हस्तानतरण कार्यक्रम तय भएको थाहा भयो । विवाह भन्न बित्तिकै धेरै तडक भडक हुन्छ । जन्ती देखी सबैतिर भोज खुवाउने र धेरै खर्च गर्ने चलन हुन्छ ।

तर नरेन्द्रले विवाहमा लाग्ने खर्च बिद्यालयलाई हस्तानतरण गरेका छन् । उनले एक समारोहका बिच करिब पाँचलाख रुपैयाँ वैवाहिक कार्यक्रमबाटै विभिन्न विद्यालयमा हस्तान्तरण गरे । जसमा सरस्वती मावि सल्लेमा नगद एकलाख ५१ हजार रुपैयाँ, ५० हजार रुपैयाँ बराबरको कापीकलम र डायरी तथा ५० हजार रुपैयाँ बराबरको जीवनउपयोगी पुस्तकहरु हस्तान्तरण गरिएको छ । त्यस्तै जलजला मावि थवाङ रोल्पालाई एकलाख रुपैयाँ र अभिभावक विहीन, दलित तथा विपन्न तीनजना बालबालिकाहरुलाई जनही ५० हजारका दरले एकलाख ५० हजार रुपैयाँ उपलब्ध गराएका हुन् । रुकुम पश्चिमका बि.क र खोटाङको दिक्तेल नगरपालिका –७ की रिना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने खर्चजति सबै विद्यालयमा सहयोग गरेका हुन् ।

बि.क विप्लब निकट नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरी समेत रहेका विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा आइतबार वैवाहिक कार्यक्रम गरेका हुन् । छोराबुहारीको चाहना अनुसार विवाह गर्ने सबै फजुल खर्च कटाएर शैक्षिक उन्नति, प्रगति तथा सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुवा फत्तेसिंह नेपालीले बताए ।

पछिल्लो समयमा समाजमा विवाह, ब्रतबन्ध, पुजाआजा लगायतका कार्यमा निकै भड्किलोपन बढेको भन्दै त्यसलाई निरुत्साहित गरी नयाँ संस्कार, संस्कृति र परम्पराको थालनी गरिएको उनकोे भनाई छ । विवाह खर्चबाट बचाएको करिब पाँचलाख रुपैयाँ वैवाहिक कार्यक्रमबाटै विभिन्न विद्यालयमा हस्तान्तरण गरिएको छ ।

वैवाहिक कार्यक्रममा दुलाह नरेन्द्रको शिक्षादिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकहरुलाई सम्मान समेत गरिएको छ । उक्त प्रगतिशील विवाह तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरु, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायत नेकपाका केन्द्रिय सदस्य चिरण पुन मिलन, दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष एवं पूर्व सभासद् सीता विक सम्झना, जिल्ला स्तरीय नेताहरु पनि सहभागी थिए ।