सिडिओलाई केन्द्रमा राख्दा मुख्यमन्त्री शक्तिविहीनः सभापति शाह

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संबिधानको बर्खिलाब हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिबिहीन बनाउने काम गरेको टिप्पणी गर्नु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संबिधानमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था भएपनि संघीय सरकारले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशलाई शक्तिबिहीन बनाएको बताउनु भयो ।

संघीय संसदमा प्रस्तुत हुन लागेको सञ्चार बिधेयकमा पनि पत्रकारलाई कस्ने गरी कानुन तर्जुमा गरीएको उल्लेख गर्दै उहाँले उक्त बिधेयक पारित भएमा पत्रकारले स्वतन्त्र रुपमा काम गर्न नसक्ने अवस्था आउने बताउनु भयो ।

पछिल्लो समयमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा लगानी भित्रन नसकेको उहाँले बताउनु भयो । लेखा समितिका सभापति शाहले एनसेलका टावरहरुमा बिष्फोट हुनुले लगानीकर्ताहरु त्रसित भएको उल्लेख गर्नुभयो । उहाँले वाईडवडी अनियमितता कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको बताउदै तत्काल कारवाहीका लागि आग्रह गर्नु भयो ।

उहाँले अनियमितता छानबिन गर्ने अख्तियार बाहेक समानान्तर समिति गठन गर्न नहुने बताउदै सरकारले अहिले गठन गरेको समिति गैरकानुनी भएको बताउनु भयो ।