भोजपुरमा भुकम्पबाट भत्किएका ६ सय ५१ घर बने

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुर जिल्लामा भुकम्पबाट क्षति भएका ६ सय ५१ वटा घरको पुन निर्माण सम्पन्न भएको छ । जिल्लाका लाभग्राही सूचीमा परेका ५ हजार ७ सय ४९ पिडित मध्ये हाल सम्म ६ सय ५१ जनाले घर निर्माण कार्य सम्पन्न गरि तेस्रो किस्ता वापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ ।

त्यस्तैगरी ५ हजार १ सय ४१ जनाले पहिलो र ३ हजार ५ सय २५ जनाले दोश्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । प्रवलीकरण तर्फ परेको ४ सय ५३ निवेदन मध्ये २ सय १२ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायव शुव्बा हरिकृष्ण दाहालले जानकारी दिए ।

कार्यालयले स्थानिय तहबाट आएका सम्पुर्ण सिफारिसहरुलाई भुक्तानीको लागि बैंकमा पठाएको जनाएको छ । साथै दोहोरो नाम परेको, पिडित मृत्यू भएको लगायत अन्य विभिन्न विषयमा आएका निवदेनहरुलाई सच्याउनको लागि केन्द्रमा पठाएको जनाएको छ । पछिल्लो समयमा पीडितको घर निर्माणको कार्यले तिव्रता पाएको पनि कार्यालयको भनाई छ । लाभग्राहीका सूचीमा परेका मध्ये ५ हजार १ सय ६७ पीडितले सम्झौता गरेका थिए ।