कुस्मा–बलेवा यान्त्रिक पुल अनिश्चितकालका लागि बन्द

0
Shares

नेपाल समाचारपत्र, पर्वत
कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो ।
पुलमा डब्बा तान्न प्रयोग भएका लठ्ठामा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिनुभयो ।

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका १४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा खिइँदै गएकाले परिवर्तन गरिँदै आएको छ । मर्मत गरेको २५ महिनापछि लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका सञ्चालक शर्माले जानकारी दिनुभयो ।

पुल मर्मत गर्न कम्तिमा एकहप्ता लाग्ने अनुमान छ । भारतबाट आइतबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ ।

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङेपुलको प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने गरेका छन् ।

पर्वतमा अहिले मगर महोत्सव र बागलुङको बलेवामा बलेवा महोत्सव चलिरहेको छ । यात्रुहरुको चाप बढिरहेका बेला पुल मर्मतका लागि बन्द भएपछि पुललाई एक हप्तामा १० लाख रुपियाँ घाटा लाग्ने अनुमान गरिएको छ ।

कुश्मा–बलेवा यान्त्रिक पुल २०६८ सालमा करिब चार करोडको लागतमा बनाइएको हो । एक डब्बामा एक पटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवातजावत गर्दै आएका छन् ।