उजुरी नपर्दा बालविवाह बढ्यो

0
Shares

महेश न्यौपाने, रोल्पा
रोल्पामा उमेर नपुग्दै विवाह गर्नेको संख्या अत्यधिक रहे पनि यसका विरुद्ध उजुरी दिनेको संख्या भने निकै कम देखिएको छ । नेपालको कानूनले वालविवाहलाई अक्षम्य अपराधको रुपमा राखे पनि यस्तो अपराध गर्नेहरुलाई न कानूनी कारवाही हुने गरेको छ न सामाजिक वहिष्कार नै । नेपालको फौजदारी संहिता अनुसार वीस वर्ष नपुग्दै गरेको विवाह स्वतः वदर हुन्छ र त्यस्तो कसुर गर्ने गराउनेलाई कैद र जरीमानाको व्यवस्था गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले अघिल्लो वर्ष प्रकाशित गरेको प्रतिवेदनमा जिल्लाका स्वास्थ्य संस्थामा जाँच गराउने गर्भवती मध्ये २९.४३ प्रतिशत संख्या २० वर्ष मुनीका किशोरीको देखियो । संयुक्त राष्ट्रसंघीय जनसंख्या विकास कोषको रोल्पा स्थीत कार्यालयले सन् २०१७ मा गरेको एक सर्वेक्षणमा रोल्पामा १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३०.१४ प्रतिशत देखियो ।

सोही संस्थाको रिपोर्ट अनुसार सो उमेर समूहका १५.२४ प्रतिशत किशोरीहरुले पहिलो वच्चा समेत जन्माई सक्ने गरेको प्रतिवेदन सार्वजनिक ग¥यो । सन् २०१७ मा गरिएको एक अर्को सर्भेक्षण अनुसार जिल्लामा हुने विवाह मध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनीका बालवालिकाले गर्ने गर्दछन । यसैगरि १५ वर्ष नपुग्दै गरिने विवाहको संख्या ६.८ प्रतिशत देखिएको छ । यो सर्भेक्षण जिल्लाका केही गा.वि.सहरुमा गरिएको थियो ।

यी तथ्यांकले जिल्लामा बालविवाहको रुप भयावह देखिए उजुरी भने निकै कम हुने देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३÷०७४ मा बालविवाहका २ वटा उजुरी परेको थियो । आर्थिक वर्ष ०७४÷०७५ मा यो संख्या घटेर एउटा मात्रै मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्धा फाँटले जानकारी दिएको छ ।

बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । अघिल्लो वर्षको ७ महिनामा मात्रै जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा २० वर्षमुनिका चार सय ७८ किशोरीहरुले गर्भ जाँच गराएको सिनियर अनमी नैना डागीले जानकारी दिईन । किशोरीहरुमा गर्भपतन गराउने दर समेत वढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।

अघिल्लो वर्षको ७ महिनामा २० वर्ष मुनीका २६ जना किशोरीले गर्भपतन गराएका थिए । यसरी अनिच्छिद गर्भधारण भएका किशोरी मध्ये ठूलो संख्याका किशोरीहरु नीजि क्लीनिकमा गएर समेत गर्भपतन गराउने गरेको वताईन्छ । अस्थायी साधन प्रयोगकर्ता किशोरीहरुको संख्या सोही अवधीमा पाँच सय ५३ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

रोल्पालाई नेपालका ५ वटा वढि वालविवाह हुने जिल्ला मध्ये एक जिल्लाको रुपमा लिइन्छ । बाल विवाहको सर्वाङ्गिण असर समेत देखिएका छन । जस असर शिक्षा र स्वास्थ्यका साथै अन्य क्षेत्रमा समेत देखिने गरेको छ ।

वालविवाहकै कारण जिल्लामा विद्यालय उमेरका १० प्रतिशत वालवालिका अझै विद्यालय वाहिरै रहेको एक सवेक्षणले देखाएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषले जिल्लामा गरेको सर्वेक्षणले त्यस्तो तथ्यांक देखाएको हो । पढ्दा पढ्दै विवाह गर्ने विद्यार्थीहरु विवाह पछि कमैले मात्रै पढाईलाई निरन्तरता दिने गरेको पाइएको छ । जसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहो¥याउने संख्या समेत घट्न सकेको छैन ।

जिल्ला अदालत सम्म यस्ता मुद्धा पुग्दै पुग्दैनन महिला अधिकारकर्मी तीर्था आचार्यले भनिन । अधिकांश गाउँमै मिलापत्र गर्ने वा लुकाई छिपाई गर्ने प्रचलन छ आचार्यले भनिन । वालविवाह पनि अन्य अपराध जस्तै अक्षम्य अपराध हो भन्ने समाजले नवुझ्दा सम्म यसको अन्त्य चूनौतीको विषय रहने आचार्यको भनाई छ ।

सामाजिक सांस्कृतिक मूल्य मान्यताले समेत वालविवाहलाई वढावा दिईरहेको जलजला वहुमुखी क्याम्पस रोल्पाका जनसंख्या विषयका सह प्रध्यापक गोकर्ण पुनको भनाई छ । मौसमी वसाई सराई, गोठ वस्ने पराम्परा, मेला जात्राले वालविवाहलाई प्रसय दिईरहेका छन पुनले भने ।