आर्कषणको केन्द्र वन्दै ‘महभीर झर्ना’

0
Shares

गणेश विष्ट, भोजपुर
पर्यटकिय क्षेत्र भोजपुरको टेम्के डाँडाको काँखमा रहेको महभिर झर्ना पर्यटकको आर्कषणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । करिव ६० मिटर अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नको लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिव ४ किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रैं महिनामा पानी उतिकै मात्रामा वग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समुह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ ।

गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको श्रोत संकलन गर्ने लक्ष्यका साथ यहाँ सम्म पुग्ने पदमार्ग निर्माण गरि दिएपछि पर्यटकहरुलाई यहाँ पुग्न निकै सहज भएसंगै आन्तरिक पर्यटकको आर्कषण बढेको हो । उनीहरुले यहाँ पुगेर भिरमौरीसंगै झरनाको मनोरम दृष्य अवलोकन गर्ने गरेका छन् ।

यसलाई अझ प्रचार प्रसार संगै आवश्यक पुर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक श्रोत संकलन गर्न धेरै सहज हुने स्थानियको भनाई छ । स्थानिय शिव राईले भन्नु भयो‘‘ यो झर्ना प्रचार प्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिए पछि अहिले यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ ।’’

विगतमा प्रचार प्रसारको अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ । तर स्थानिय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करिव ६ लाख वजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिए पछि अन्तरिक पर्यटकको आगमन वढेको हो ।

यस झर्नाको विकास गनर्का लागि काम भइरहेको गाउँपालिका अध्यक्ष धु्रवराज राईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो‘‘ हाम्रो गाउँपालिका पर्यटकिय तवरले निकै राम्रो छ, यहाँका पर्यटकिय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकको लागि चिया नास्ता लगाएत कुरा खानको लागि डिपिआर तयार गरेर संरचना निर्माणको काम अगाडी वढाउछौ ।’’मध्ये पहाडी लोकमार्गले छोएको कारण पनि यो झर्नामा आउने पर्यटकको संख्या दिनानुदिन वढी रहेको हो ।