नरेन्द्र केसी, घोराही, दाङ
दाङमा सडक दुर्घटनामा ज्यान गुमाएका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शनिवार सलामीसहित अन्त्येष्टि गरिएको छ । माघ २४ गते लमही–घोराही सडकखण्डको चिसापानीमा आफैले चलाएको कार बससँग ठोक्किदा गम्भीर घाइते भएका ओलीको शुक्रवार विहान उपचारका क्रममा निधन भएको थियो ।
उहाँको जन्मस्थान दंगीशरण गाउँपालिका–६ बागर नजिकै चिरेघाटखोलामा अन्त्येष्टि गरिएको छ । प्रदेश नम्बर ५ सरकारको निर्णयअनुसार नेपाल प्रहरीको शोक सलामीसहित उहाँको अन्त्येष्टि गरिएको हो ।
संघीय सभामुख कृष्णबहादुर महरा, ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले संयुक्तरुपमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । लगत्तै ओलीका छोराहरु ९ बर्षका प्रणय र ६ बर्षका प्रतिक ओलीले दागवत्ति दिनुभएको थियो । अन्त्येष्टिमा हजारांै नेता, कार्यकर्ता, जननप्रतिनिधि, आफन्तजन तथा शुभेच्छुक, सुरक्षा निकायका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
प्रदेश ५ मा ‘उत्तरकुमार ओली सडक सुरक्षा अभियान’ चलाइने
शोकसभालाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले ‘उत्तरकुमार ओली सडक सुरक्षा योजना विशेष अभियान’ सञ्चालन गर्ने बताउनुभयो । उहाँको दुर्घटनाबाट शिक्षा लिदै प्रदेश–५ भित्र कसरी सडक दुर्घटनलाई सुरक्षा प्रदान गर्न सकिन्छ र दुर्घटनालाई कसरी कमी गर्न सकिन्छ भन्ने विषयमा कार्यदल गठन गरेर विशेष अभियान चलाउने तयारी गरेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।
उत्तरकुमारलाई गुमाए पनि अरु थुप्रै उत्तरकुमार वलीको जीवन रक्षाका लागि सडक सुरक्षा योनाको आवश्यकता रहको उहाँले बताउनुभयो । प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पश्चिम दाङको होनहार युवा नेताको निधनले पश्चिम दाङको विकासमा अपूणीय क्षति पुगेको बताउनुभयो । देश र जनताका लागि सधै संर्घष र बलिदान गर्ने व्यक्ति मरेर गए पनि सधै जनताको मनमा बस्ने र अमरत्व प्राप्त गर्ने उहाँले बताउनुभयो ।
अन्त्यष्टि समारोहमा संघिय सांसद, प्रदेश सांसद, पार्टीका नेता, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । ओलीको काठमाडौंैको मेडिसिटी अस्पतालमा उपचारका क्रममा १६ दिनपछि शुक्रबार विहान ३ बजे निधन भएको हो । सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट २०७४ मंसिर २१ गते भएको प्रदेश सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।











प्रतिक्रिया