शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान गरेको छ ।
नेशनल प्याब्सन भक्तपुरको सातौं वार्षिक साधारणसभाको अवसरमा त्रिवि शिक्षा संकायका पूर्वडीन एवं शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिकर्मी एवं शिक्षासेवी तेजेश्वरबाबु ग्वंगलाई शनिबार सम्मान गरेको हो ।

भक्तपुरमा रहेर भक्तपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शिक्षाविद् वैद्य र संस्कृति क्षेत्रमा निरन्तर लागिरहेका ग्वंगलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको एनप्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले जानकारी दिए ।

कार्यक्रममा संघीय सांसद एवं नेशनल प्याब्सनका पूर्व अध्यक्ष गीता राणाले शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्नु सराहनीय भएको चर्चा गर्दै शिक्षामा गुणस्तरीयताका लागि सबै पक्षबीच सहकार्य आवश्यक भएको बताइन् ।

उनले उनले शिक्षामा निजी क्षेत्रलाई भित्र्याउने काम सरकारबाटै भए पनि निजी विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदान सरकारले नदेख्नु विडम्वनाको विषय भएको चर्चा गर्दै अहिलेको अवस्थामा निजी विद्यालयलाई हटाउन सक्ने परिस्थिति नभएको बताइन् ।

सरकारी विद्यालयको तुलनामा निजी विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान दिएकाले निजीको गुणस्तर र क्रियाशीलतामा शिथिलता ल्याउने र नेपालको शिक्षालाई ध्वस्त बनाउने उद्देश्यले सरकारले विभिन्न विदेशी दाताहरुको भरमा राम्रो गरिरहेका निजी विद्यालयलाई नियमन गर्न खोजेको उनको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायकी सहायक डीन डा. कृश्मिला आचार्यले शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नरहेको आरोप लगाइन् । उनले शिक्षाको विकासको लागि बलियो नियमावलीको खाँचो रहे पनि सरकारले त्यो खाँचो पूर्ति गर्न नसकेको बताइन् ।

कार्यक्रममा सम्मानित व्यक्तिहरु शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले शिक्षासँगै संस्कारको जरुरी रहेको बताउँदै संस्कारविनाको शिक्षा पूर्ण नहुने उल्लेख गर्दै निजी विद्यालयहरुलाई लाग्दै आएको आरोप घटाएर विद्यालय सञ्चालन गर्न अनुरोध गरे ।

शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहाल, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याब्सन भक्तपुरका सचिव शिवकृष्ण कवांलगायतले बोलेको सो कार्यक्रममा नेशनल प्याब्सनको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।