काठमाडौं, (नेस)
चक्रपथ सरसफाइ अभियान शनिबार ८०औं सातामा प्रवेश गरेको छ । प्रमुख अभियन्ता ताराबहादुर कुँवरले शनिबार सीतापाइलामा सरसफाई गरेको बताउनुभयो ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्षसमेत रहनुभएका कुँवरले स्थानीय बासिन्दाको सहयोग नपाएकाले सोचे अनुसार काम गर्न नसकिएको बताउनुभयो । ‘यो साझा अभियान हो तर बुझाउन सकिएन, स्थानीयको सक्रियताको खाँचो छ’, कुँवरले भन्नुभयो– ‘सानो उद्देश्यले सुरु गरिएको यो अभियान अब बृहत रुपमा गइसकेको छ ।’ उहाँले उपभोक्ताहरु सचेत नभएसम्म फोहोर बढिरहने बताउनुभयो । उहाँले सरकारले पनि नीति बनाएर कडाईका साथ दण्ड र जरिवाना गर्नुपर्नेमा जोड दिनुभयो ।
अभियानले प्रत्येक शनिबार बिहान सरसफाई गर्ने गरेको छ ।
महानगरपालिका र नेप्सेम्याकको गाडीले फोहोर संकलन र भण्डारण गर्ने गरेको छ । अहिलेसम्म २ सय ५० ट्रक फोहोर संकलन भएको जनाइएको छ । हरेक कार्यक्रममा कलाकार, प्रशासक, प्रहरी अधिकारी तथा सर्वसाधरणको सहभागिता रहने गरेको छ ।
अभियानले बालाजुबाट कलंकीसम्म सरसफाई गर्दै आएको छ । कुँवरले कार्यक्रममा सहभागी हुन नसके पनि फोहोर नगरिदिन आग्रह गर्नुभएको छ । धेरै समयअघि अभियान चलाए पनि पछिल्लो समयमा चक्रपथको बाटो बनाउन थालेपछि अभियान केही समय रोकिएको थियो ।











प्रतिक्रिया