गोप्य मतदान भए राजधानी काभ्रे: वैद्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसका ३ नम्बर प्रदेश सांसद नरोत्तम बैद्यले प्रदेशको राजधानी काभ्रे हुनसक्ने बताउनुभएको छ ।

‘गोप्य मतदान हुने हो भने राजधानी काभ्रे हुन्छ यो ग्यारेण्टी हो’ उहाँले भन्नुभयो– ‘काभ्रेमा धेरैको सहमति हुन्छ तर अहिले खुलेर कोही पनि केही भनिहाल्ने पक्षमा छैनन् ।’ तर पार्टीले ह्वीप लाए भने टुंगो नहुने बताउनुभयो । अहिले बैठक भइरहेको हेटौंडा हरेक दृष्टिकोणले टाढा र अपायक भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री डोरमणी पौडेल, कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको चाहना हेटौंडा नै राख्ने भए पनि बहुमत त्यो पक्षमा नरहेको बैद्यको दावी छ । उहाँले हेटौंडासम्म गइरहँदा धेरै समय लागेको र ढुक्क भएर काम गर्न नसकिएको गुनासो गर्नुभयो । आउन जान नै समस्या भएको र संसदीय काम र समितिको काममा समय दिन नपाएको बताउनुभयो ।

काठमाडौं–४ बाट निर्वाचित सांसद बैद्यले जता भए पनि छिटै टुंगियोस् भन्ने आफूहरुको एकमत रहेको बताउनुभयो । ‘जता भएपनि फरक परेन तरपनि हरेक दृष्टिकोणले उपयुक्त हुने ठाउँ होस् भन्ने चाहना हो’ उहाँले भन्नुभयो ‘काठमाडौंचाहिँ सम्भव छैन किनभने यहाँ हुँदा केन्द्रको ओझेलमा पर्छ ।’ प्रदेशसभा सञ्चालन भएको १ वर्ष बितिसक्दा पनि १, २, ३ र ५ नम्बर प्रदेशले राजधानी र नामको टुंगो लगाउन सकिरहेका छैनन् ।

बैद्यले प्रदेशलाई अधिकार नदिएकोमा पनि गुनासो गर्नुभएको छ ‘माथि संघ छ तल स्थानीय तह छ तर हामी प्रदेशका सांसद भने निकै अलमलमा परेका छौं, हामीलाई केही पनि अधिकार छैन’ उहाँले भन्नुभयो ‘३ वटै सरकारबीच समन्वय भएन भने देशको बिकास र समृद्धि हुन सक्दैन त्यसैले संविधानले व्यवस्था गरेको अधिकार र आर्थिक कार्यभार पनि दिइयोस ।’