आगलागीमा आठ लाख बराबरको क्षति

0
Shares

इनरुवा ।
सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । इनरुवा र इटहरीबाट गएका वारुणयन्त्र तथा स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

सय लिटर मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार १०० लिटर मदिरा नष्ट गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अवैधरूपमा बनाइरहेको घरेलु मदिरा बरामद गरेर नष्ट गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक फुयालले जानकारी दिनुभयो । प्रहरीले सबै सरोकारवालाको रोहवरमा १०० लिटर मदिरा नष्ट गरेको थियो । जिल्लामा अवैधरूपमा घरेलु मदिरा बनाइरहेको बेला प्रहरीले निगरानी बढाएपछि घरेलु अवैध मदिरा बरामद गरेर नष्ट गर्न सफल भएको प्रहरीले जनाएको छ ।
रासस