ट्रम्प–किम शिखर वार्तामा विदेशी पत्रकारको भिड


हनोइ, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच फेब्रुअरीमा हुने दोस्रो शिखर बैठकको समाचार संकलन गर्न कम्तीमा २ हजार ६ सय विदेशी पत्रकारले नाम दर्ता गराएको भियतनामका एक मन्त्रीले जानकारी दिए। यद्यपि यसको तयारीका लागि अत्यन्त कम समय मात्र बाँकी भएकाले भियतनाम चिन्तित रहेको बताइएको छ।
एक पत्रकार सम्मेलनमा बिहीबार भियतनामका उपविदेशमन्त्री ले होई डुंगले ट्रम्पद्वारा भियतनामको राजधानी हनोइलाई शिखर बैठकस्थलका रूपमा घोषित गरेपछि ऊसँग तयारी गर्ने मात्र २० दिन बाँकी रहेको बताए। गत वर्ष जुनमा भएको अमेरिका उत्तर कोरिया शिखर बैठकको तयारीका लागि सिंगापुरसँग करिब २ महिनाको समय भएको पनि उनले थपे।
भियतनामका प्रधानमन्त्री गुयेन जुआन फुकले मन्त्रालय र विभागलाई शिखर बैठक सफल बनाउन आवश्यक सम्पूर्ण सुरक्षा सुनिश्चित गर्न पूर्ण प्रयासका लागि निर्देशन दिएको छ। प्रधानमन्त्रीले स्वागतसम्बन्धी तयारीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। बैठकको समाचार संकलन गर्न आउने अन्तर्राष्ट्रिय पत्रकारका लागि धेरैभन्दा धेरै अनुकूल वातावरण बनाउन आवश्यक भएकामा उनले जोड दिएका छन्।