गोर्खा सैनिकको समस्याबारे प्रचण्डको चासो

0
Shares

ललितपुर, (नेस)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ।
शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेस्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो। दाहाल निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो।
त्यसै गरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। आफूहरूको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै प्रचण्डले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान सरकार लागिपरेको बताउनुभयो।
चार दिवसीय नेपाल भ्रमणमा रहनुभएका राज्यमन्त्री ल्याङकस्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो। राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताउनुभयो। उहाँले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रूपमा रहेको धारणा राख्नुभएको थियो। भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो।