मेलम्चीको पानी ल्याउने तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
खानेपानीमन्त्री बिना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ।
सांसद डिला संग्रौलाले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मेलम्ची खानेपानी काठमाडौंबासीले कहिले पिउन पाउँछन् भन्ने प्रश्नको जवाफमा मन्त्री मगरले सीएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताउनुभयो।
उहाँले मन्त्रालय दुईवटा विकल्प लिएर अघि बढेको बताउनुभयो। ‘पहिलो सीएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ। यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनः बोलपत्र आ≈वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ’ –उहाँको भनाइ थियोे।
मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सीएमसीसँग कमिसन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भनी सांसद संग्रौलाले पूरक प्रश्न राख्नुभएको थियो। मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मकरूपमा काम भएको जिकिर गर्नुभएको थियो।
आफू आएपछि धेरै काम भएको हो, निर्माण कम्पनीको लापरबाहीले परिणाम दिन नसकिएको, सुरुङ ‘ब्रेकथ्रु’ र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरू भएको, फिनिसिङ अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो।
सीएमसी गएपछि अन्योल छाउनु दुर्भाग्य भए पनि त्यसको भोलिपल्टदेखि नै कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी उहाँले संसद्लाई दिनुभयो।
छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सीएमसी नआए पनि तीव्ररूपमा काम गर्ने गरी पुनः बोलपत्र आ≈वानको तयारी गरिएको बताउनुभयो।
ठेक्काको मान्यताभित्र रहेर काम गर्ने गरी आए सीएमसीलाई स्वागत गरिने तर विधिबाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताउनुभयो। आफू आएपछि ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा १ अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाउनुभयो। मेलम्चीको विकल्पका रूपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।