चालकको स्वास्थ्य चेकजाँचमा तीव्रता 

0
Shares

सिन्धुली, (नेस)
सडक सवारी दुर्घटना कम गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनका चालक, सहचालकहरूको स्वास्थ्य चेकजाँचलाई तिव्रता दिएको छ। समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी साधनका चालक, सहचालक र गाडीको यान्त्रिक अवस्थाको चेकजाँचलाई अभियानकै रूपमा सञ्चालन गरेको हो।
अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गअन्तर्गत सञ्चालन हुने सवारी साधनहरूका चालक, सहचालक र यात्रुहरूको दुईपटक स्वास्थ्य चेकजाँच गरी सकेको छ। सडक दुर्घटना हुने कारणमध्ये चालकको स्वास्थ्यले पनि असर गर्ने भएकाले सवारी साधनका चालक, सहचालकको स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
विपी राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालक, सहचालकको ब्लड प्रेसर र आखाँको चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर बस्नेतले बताए। उनले भने– ‘सवारी साधनका चालक, सहचालकको ब्लड प्रेसरको अवस्था, डाक्टर नै राखेर उनीहरूको आखाँ पनि चेकजाँच गरेका छौं, आँखाको चेकजाँच गर्दा सामान्य भए औषधी निःशुल्क दिन्छौं ब्लड प्रेसर हुनेलाई पानी खान दिन्छौं, फ्रेस बनाएर फेरि ब्लड पे्रसर जाँच गरेर गन्तव्यमा पठाउने गरेका छौं।’

चालकको आखाँ जाँच गर्दा चस्मा लगाउनुपर्ने देखियो भने अनिवार्य रूपमा चस्मा लगाउन आग्रह गर्ने उनको भनाइ छ।