युवा वैज्ञानिक सम्मेलन नेपालमा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ को उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले नेपालमा सम्भवतः पहिलोपटक काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ। नेपालमा यसअघि सरकारी क्षेत्रबाट वैज्ञानिक सम्मेलन भएको छैन।
नेपालमा सरकारी निकायले पहिलोपटक युवा वैज्ञानिकका लागि दुई वटा सम्मेलन गर्न लागेको हो। सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन र नेपालका राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको छ। मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको दुई वटा विभागसँग सम्मेलन गर्न सम्झmौता गरेको छ।
सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ हुनेछ। सम्मेलनमा नेपालका ५० भन्दा बढी र दक्षिण एसियाका ८ देशका १५ जना युवा वैज्ञानिकको सहभागिता रहनेछ। दक्षिण एसियाका युवा वैज्ञानिकलाई नेपालका युवा वैज्ञानिकहरूसँग एउटै कार्यक्रममा सहभागी गराएर विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका नवीनतम् ज्ञानबारे जानकारी गराइनेछ।
विशेषतः दक्षिण एसियाली क्षेत्रमा विज्ञान तथा प्रविधिमा भए गरेका उपलब्धिको अनुभव साटासाट गर्दै आइपरेका समस्या समाधान गर्ने र सार्क क्षेत्रमा विज्ञान र प्रविधि क्षेत्रको विकासमा टेवा पु¥याउने अभिप्रायले सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको हो।
राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन वैशाख १० र ११ गते हुनेछ। सम्मेलनमा नेपालका १ सय ५० भन्दा बढी युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा खोजकर्ता सहभागी हुनेछन्। सम्मेलनमा दुई प्रकारका कार्यक्रम सञ्चालन हुनेछ। २० देखि २५ वर्ष उमेर समूहका र २५ देखि ४५ वर्ष उमेर समूहका युवा वैज्ञानिकबीच भिन्न कार्यक्रम हुनेछ। सम्मेलनले नेपालका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउने उद्देश्य राखेको छ।
शुक्रबार हेटौंडास्थित मन्त्रालयमा भएको कार्यक्रममा विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रबीच वैज्ञानिक सम्मेलन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागले सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो। व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन तथा अनुसन्धान कार्यपत्र प्रकाशन गर्ने जिम्मेवारी लिएको हो।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री अरूण नेपाल र विश्वविद्यालय जल तथा मौसम विभाग निर्देशक डा। दीपक अर्याल र प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा। रामेश्वर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।