काठमाडाैं । पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । कार्यदलको पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै नेतृत्व असन्तुष्ट छ ।
बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए । तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
अध्यक्ष ओली कार्यदललाई विघटन गरेर सचिवालयले पार्टी एकताका बाँकी काम टुंग्याउने पक्षमा छन् तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कार्यदलको सल्लाह सुझाव र प्रतिवेदन अनुसार अगाडि बढ्नुपर्छ भन्ने पक्षमा देखिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पनि कार्यदल विघटनको विपक्षमा छन् । कार्यदलले एक साताको समय मागेको छ ।
कार्यदलका संयोजक रामबहादुर थापा र अर्का सदस्य एवं पार्टीका महासचिव विष्णु पौडेल कार्यदलमा सहमतिका आधारमा नभई आफू अनुकूल प्रतिवेदन बनाउन उद्धत रहेको कार्यदलकै सदस्यहरुको गुनासो छ ।











प्रतिक्रिया