नेपाल समाचारपत्र, काठमाडौं
ललितपुरको बागडोलमा संचालित अवैध आसफाल्ट प्लान्ट एक वर्षदेखि बन्द रहेको छ । स्थानीयको व्यापक बिरोधकै कारण बन्द रहेको यस उद्योग संचालन गर्न चलखेल बढेसंगै स्थानीय आक्रोशित बनेका छन् । सडक कालोपत्रे गर्न अलकत्रा र चिप्स मिक्सिङ गर्ने संचालित मेसिन र मेसिन भएको क्षेत्रलाई आसफाल्ट प्लान्ट भनिन्छ ।
स्थानीयले कुनै पनि हालतमा बन्द रहेको उद्योग सञ्चालन गर्न अनुमति दिन नहुने भन्दै वडा कार्यालय र महानगर प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएर ध्यानाकर्षण गरिसकेका छन् । मानव बस्तीमा उक्त उद्योग सञ्चालन भएपछि उद्योगबाट निस्केको धूलो र धूवाँको प्रदूषण बढेको थियो ।
जसले गर्दा स्थानीय मारमा परेको भन्दै महानगरपालिका, उद्योग मन्त्रालयदेखि संसद सचिवालयसम्म उक्त उद्योग बन्द गराउन स्थानीयले दबाब दिएका थिए । त्यसपछि विभिन्न निकायले जरिवाना सहित उक्त उद्योग बन्द गराउन निर्देशन समेत दिईएको थियो । त्यस बेलादेखि बन्द रहेको उक्त उद्योग फेरि संचालन गर्न चलखेल चलेको भेउ पाएपछि पुनः स्थानीय जागेका छन् ।
हरि पाण्डे संचालक रहेको नेपाल आदर्श कम्पनीले आसफाल्ट प्लान्ट ललितपुर महानगरपालिका–४, बागडोलको मल पोखरीमा रहेको छ । उद्योगले ध्वनि प्रदूषण तथा वातावरणमा समेत दुर्गन्ध फैलाएको स्थानीयको दाबी रहेको छ ।
२०५३ साल पौष ९ गते काठमाण्डौमा दर्ता भएको नेपाल आदर्श कम्पनीले काठमाडौको किर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो । उद्योग दर्ता प्रमाण पत्रमा तोकिएको स्थान भन्दा अन्यत्र हुनेगरी बागडोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लंघन गरेकोमा उक्त कम्पनीलाई २०७१ माघमा मन्त्रीपरिषद्को निर्णयअनुसार ५ लाख रुपियाँ जरिवानासमेत गरेको थियो।
उक्त कम्पनीले नेपाल सरकार र सम्बन्धित निकायहरुबाट दिइएको निर्देशन समेत अवज्ञा गर्दै आएको छ । वातावरण विभागबाट अनुगमन हुँदा गैरकानूनी रुपमा उद्योग सञ्चालन गरेको र वातावरण प्रदूषण गरेको भन्दै ५० हजार रुपियाँ जरिवानासमेत गरेको थियो ।
स्थानीयको उजुरी परेपछि संसदीय समितिमा समेत यस विषयमा व्यापक छलफल भएको थियो । संसद्को वातावरण समितिले उक्त उद्योगले वातावरण दूषित र दुर्घन्धित पारेकोले मानब बस्तीमा राख्न नहुने भन्दै सञ्चालनमा रोक लगाएको थियो ।
बागडोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले बन्द रहेको उद्योग संचालनका लागि चलखेल बढाईरहेकोले संचालन गर्न दिन नहुने भन्दै विरोधमा उत्रिएको बताउनुभयो । ‘हाम्रै पहलमा यो उद्योग बन्द छ । हाम्रो स्वास्थ्यमा प्रतिकूल असर गरेकोले बन्द गरेका हौँ ।’, उहाँले भन्नुभयो– ‘फेरी पनि चलाउने भनेर भित्रभित्र चाल खेलिरहेका छन् । हामी कदापि चल्न दिने पक्षमा छैनौँ ।’
उहाँका अनुसार उद्योग सञ्चालनका बेला घरबाट निस्कन, हिँडडुल गर्न समेत मुस्किल पर्दछ भने कौशीमा सुकाएको लुगासमेत उद्योगकै कारण कालो हुन्छ । स्थानीयको स्वास्थ्यमा उद्योगले खेलबाड नै गरेकोले बन्द गर्न बाध्य भएको उहाँको भनाइ छ ।
वडा–४ का वडा अध्यक्ष नारायाण केसीले आफू स्थानीयको पक्षमा रहेको भन्दै उक्त स्थानमा फेरी उद्योग संचालन गर्न दिने पक्षमा नरहेको बताउनुभयो ।
‘उद्योग संचालनपछि मानबबस्ती बायु प्रदुर्षणकै कारण नर्क जस्तो भोग्नु परेको कुरा विर्सेको छैन ।’, उहाँले भन्नुभयो–‘उद्योग फेरी संचालन हुने कुरा नसोचे हुन्छ । संचालनका लागि सिफारिस दिने पक्षमा म छैन । म स्थानीयकै पक्षमा छु ।’











प्रतिक्रिया