सुम्निमा काफ्ले, काठमाडौं
पशुपति क्षेत्र बिकास कोषमा रहेको विद्युतीय शवदाहगृहमा शवको चाप अत्यधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानका अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाहगृहमा दाहसंस्कार गर्न सकिएको छैन ।
शवदाहगृहका प्रशासकीय अधिकृत कुमार थापाले शव धेरै आउने भएकाले समस्या परेको बताउनुभयो । उहाँले दैनिक सरदर २५ देखि ३० शव आउने बताउनुभयो । अधिकृत थापाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘एउटा मात्र शवदाहगृहमा भएको मेसिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’
पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्काे पुरानै प्रचलन अनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ ।
थापाका अनुसार २०७२÷७३ मा १ हजार ८ सय ५६ शव विद्युतीय प्रविधिमार्फत दाहसंस्कार गरिएको थियो । त्यस्तै २०७३÷२०७४ मा ३ हजार ६ सय १५ र २०७४÷७५ मा २ हजार २ सय ६७ को संख्यामा दाहसंस्कार भएका थिए । हाल दैनिक १५ वा १६ जनासम्मको विद्युतीय प्रविधिबाट दाहसंस्कार हुने गरेको छ ।
आकर्षण बढ्दो, मेसिनरी समान अभाव
जसमा शव जलाउनका लागि १० वर्षमुनिकालाई २ हजार र अन्य समुहका मानिसको ४ हजारका दरले पैसा लाग्ने गर्दछ । तर सोही ठाउँमा दाउराबाट जलाउनका लागि भने प्रति व्यक्ति १२ हजारसम्म खर्च हुने गर्छ,। हरेक वर्षको तथ्यांकलाई हेर्दा अहिले विद्युतीय प्रविधिमार्फत दाहसंस्कार गराउनेको संख्या बढ्दो छ ।
विद्युतीय शवदाहगृहमा धार्मिक र सांस्कृतिक आस्था झल्किने परम्परादेखि मानी आएको सामाजिक मान्यतालाई मानिसले सजिलै तोड्न सकेका छैनन । मृत्यु संस्कारलाई सबै धर्मले आफ्नो धार्मिक, सांस्कृतिक परम्परालाई जोडेर निकै नै गम्भीरतापूर्वक लिएको पाइन्छ । अन्य धर्मलगायत विशेष गरी हिन्दु धार्मिक संस्कारले मानिसको मृत्युपछि शव जलाउने प्रचलन छ । यसले वरिपरिको वातावरण प्रदूषण हुँदै गएको छ । यसले मानव स्वस्थ्यमा प्रतिकूल असर पारेको छ ।
पवित्र धार्मिक क्षेत्र मानिने काठमाडौंको पाशुपति क्षेत्रमा रहेको आर्यघाटमा दैनिक जलाउनेको गरिएको शवले यस क्षेत्रको वरिपरि निकै प्रदूषण वढाएको स्थानीय बताउछन । ‘नित्य पशुपति दर्शनमा आउँछौं तर शव पोलेको दुर्गन्धले कति बेला छिटो दर्शन गरी निस्किहालुँ हुन्छ’ –मैतीदेवीबाट आएका रमणदेव यादव र सीतादेवी यादवले दुखेसो पोखे । यसैलाई मध्यनजर गर्दै पशुपति विकास कोषले २०७२ माघ १० देखि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको छ ।
सो विद्युतीय शवदाहगृह शुरुमा परीक्षणका लागि ल्याइए तापनि मेसिनले सफलतापूर्वक काम गरेपछि अहिले सञ्चालन भइरहेको अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार त्यहाँ बेवारिसे शवका साथै जिल्ला बाहिरबाट काठमाडौँमा उपचारका ल्याइएकाको मृत्यु भएका शव धेरै ल्याउने गरेको पाइएको छ ।
उहाँले त्यहाँ शव चिस्यान केन्द्रसमेत रहेकाले मृतकको कुर्नुपर्ने आफन्तलाई यसले धेरै सजिलो बनाएको बताउनुभयो । विद्युतीय प्रविधिले दाहसंस्कार गर्दा समयको बचतसँगै कम भार पर्ने उहाँको भनाइ थियो ।
तर अहिले त्यहाँ विद्युतीय प्रविधिको कमीका कारण दाहसंस्कार गर्न आएका मानिसले घण्टौं कुर्दासमेत पालो नआएको ललितपुर पाटनका दिवस श्रेठले गुनासो गर्नुभयो । श्रेष्ठले मृतकको शव जलेको देख्दा आफन्तलाई पीडा हुने बताउनुभयो । उहांले आफ्नो ७६ वर्षे मामाको दाहसंस्कार गर्न विद्युतीय शवदाहगृहमा ३ घण्टा कुर्दा समेत पालो नआएको बताउनुभयो ।
पशुपतिमा भएका दुईवटा विद्युतीय मेसिन पनि पशुपति विकास कोषले बनाएको हो । अव थप एउटा विद्युतीय मेसिनका ल्याउनका लागि टेन्डरसमेत आह्वान गरिएको पशुपति विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी दिनुभयो ।











प्रतिक्रिया