काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज प्रधानमन्त्रीलाई भेटेर विभिन्न २२ बुंदे माग बुझाएका छन् ।
उनले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न समेत माग गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो ।
राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रको बुँदा नम्बर ७ (छ) मा ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस्’ भन्ने माग राखिएको छ ।
राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि राप्रपाले माग गरेको छ । ‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा लेखिएको छ ।
जवरजस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ । धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्नेलगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।
हेर्नुस् २२ बुंदे माग
https://drive.google.com/file/d/1C7Ho27aGwra5xC9dXkzfT86Hlxvaxbuv/view











प्रतिक्रिया