प्रजातन्त्र दिवसः यस्तो छ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

0
Shares

काठमाडौं । प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश समारोह आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्र राणा, मन्त्रीगण, राजनैतिक दलका शीर्ष नेता र विशिष्ट ब्यक्ति तथा उच्च पदस्थ कर्मचारीको उपस्थिति रहनेछ । २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको र नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन नै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर हुने उल्लेख गर्नु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको उल्लेख गर्दै संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नततर्फ अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउँदै नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र संघीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक संघीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको तर वर्तमान सरकारको कामकारवाही प्रजातान्त्रिक नभएको टिप्पणी गर्नु भएको छ ।