पशुपति ! तिमी ठीक छौ


एउटा कविको कविताले समाज रुपान्तरित हुन सक्छ, कलाकारको प्रहसनले ठूलो जनमानस खडा गर्न सक्छ र एउटा गायकको गीतले क्रान्ति नै ल्याइदिने सामथ्र्य राख्छ । लोकतन्त्रमा सरकारलाई आलोचना गर्न पाइन्छ ।

बेथितिविरुद्ध बोल्न पाइन्छ । राज्यलाई सही बाटो देखाउन व्यङ्ग्य, प्रहसन, गीतमार्फत राज्यको आँखा खोल्नु स्वाभाविक कुरा हो । नेपालको संविधान २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।

नेपालका मूर्धन्य लोकगायक पशुपति शर्माले पनि ‘लुट्न सके लुट् कान्छा’ बोलको व्यङ्ग्यात्मक गीत शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेसँगै सत्तारुढ दलका नेताको मनमा भुइँचालो ल्याइदियो । उक्त गीत युट्युब च्यानलमा लोकप्रिय भएपछि सरकारको टाउको दुख्यो । र, अन्ततः प्रतिबन्ध लगाइयो ।

नेपालका सार्वजनिक ओहोदा र सरकारी निकायमा भ्रष्टाचारका कैयौँ घटना सार्वजनिक भइरहँदा शर्माले समसामयिक विषयवस्तुलाई आधार मानेर गीत रचना गरेका थिए । शर्माले मास्टर डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का युवाले लुट्न ‘प्रेरित’ गरिरहेको व्यङ्ग्य गीतमार्फत प्रस्तुत गरेका छन् । हरेक दिन उखानटुक्का र व्यङ्ग्य प्रहसन गर्दै आएको सरकारले देश लुट्नेलाई बहिस्कार गर्न अपिल गरिएको गीतको मर्म बुझ्न नसक्नु अर्को विडम्बना हो ।

शर्माले प्रस्तुत गरेको गीतमा सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुलमा पढाएको, सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको, वाइडबडी जहाज खरिदमा आर्थिक घोटाला भएको, सुनकाण्ड र ठूला नेता भ्रष्टाचारमा संलग्न भएको लगायतका विषय उठान गरेका छन् । यी विषयबारे न सरकार अनभिज्ञ छ, न जनता बेखबर ।

शनिबार दिउँसोसम्म करिब ३ लाखले हेरिसकेको सो भिडियो शर्माको अन्य गीतजस्तै सरल र मौलिक छ । शर्माको गीत प्रतिबन्ध लगाएसँगै सरकार कति हतास र कमजोर मनोबलको रहेछ भन्ने पुष्टि हुन्छ । शर्माले नै उठान गरेका विषयमा सरकार गम्भीर हुने हो भने जनताले स्याबासी दिनेमात्र होइन, सरकारकै साख बढ्नेमा कुनै द्विविधा छैन । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको भनिएको सरकारले यस्ता व्यङ्ग्य गीत सुन्दैमा सातो जान्छ भने कसरी सुशासन र समृद्धि ल्याउन सक्छ ? प्रतिबन्ध नै लागे पनि सो गीत अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती सुन्न र हेर्न पाइन्छ । कलाकार तथा गायकको कर्तव्य नै विकृति र विसंगतिविरुद्ध जेहाद छेड्नु हो । पशुपतिले त्यही गरेका मात्र हुन् ।

शर्मा देशकाल र परिस्थिति सुहाउँदो गीत सिर्जना गरेर नेपालीको मन–मुटुमा बस्न सफल लोकगायक हुन् । उनले राज्यलाई बाटो देखाउने मनसायले नै आफ्नो कला प्रस्तुत गरेका हुन् । असल नियतका साथ राज्यका बेथिति औँल्याएका गायकले सत्तारुढ दलका नेता–कार्यकर्ताको दबाबमा गीत हटाउनुपरेको पीडा आफ्नो फेसबुक पेजमार्फत दर्शाएका छन् । उनले आफू पनि यही देशको एक सचेत नागरिकका साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घूसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने नैसर्गिक अधिकार भएको बताएका छन् ।

देशमा सुशासन कायम हुनुपर्छ भन्ने महान् सोच राखेर व्याप्त विसंगतिविरुद्ध आवाज मुखरित गर्ने राष्ट्रका स्रष्टा र सम्पत्ति हुन् शर्मा । आमजनताका भरोसा र आशाका पात्र हुन् यी गायक । कैयौँ कर्णप्रिय गीत सिर्जना गरेर नेपालीको जनजिब्रोमा झुन्ड्याउन सफल यी कलाकार सरकारभन्दा लोकप्रिय छन् । उनी कुनै दलविशेषका कार्यकर्ता होइनन् । र, कसैका मतियार पनि होइनन् । उनलाई राज्यको कुनै पदमा पुग्ने आशक्ति पनि छैन । उनको गीत हटाइएको विषयमा विवेकशील नेपाली पार्टीलगायतका दलले लोकतन्त्रमाथिको प्रहार भनेको छ । शर्माको गीत हटाइएकोप्रति देशभर यसको विरोध भएको छ । सरकार लोकतन्त्र र विधिको शासनमा विश्वास गर्छ भने शर्माको गीतप्रति आपत्ति होइन, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु जरुरी छ ।
– मनोज भण्डारी, काठमाडौं ।

खै के भयो एक वर्षमा ?
दुई तिहाइ बहुमतको सरकारले एक वर्ष पूरा गरेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा बेरोजगारलाई भत्ता, जलविद्युत्मा लगानीजस्ता महत्वपूर्ण योजना सार्वजनिक गरेको छ । ओलीले चुनावी अभियान बनाएका पानीजहाज सपनालाई मूर्तरुप दिन पानीजहाज कार्यालय स्थापना र पहिलोपटक माओवादी जनयुद्धको स्वामित्व लिएको छ । सरकारको सफलता र असफलताको मापन आ–आफ्नै ढंगबाट भइरहँदा ओली सरकार र उनको मन्त्रिपरिषद्ले वर्षदिन पूरा गरेर बधाईको पात्र बनेको छ ।

ओली सरकारसँग जनताको आकांक्षाको दायरा फराकिलो छ । यसकारण कि यो सरकारलाई यो वा त्यो बहानामा काम नगर्ने छुट छैन । विगतमा एक वर्ष नपुग्दै सरकार फेरिने रोगका कारण देश विकास हुन नसकेको परिस्थितिमा स्थिर सरकार बन्नु नै एउटा खुशीको विषय थियो । त्यसमा पनि ओलीले जनतामा जगाएको आशा र देखाएको सपनाले यो सरकारसँग जनअपेक्षा चुलिनु स्वाभाविकै थियो । जनताको काम फटाफट हुने र सोहीअनुसार विकास र समृद्धि हुने आशाका साथ सरकारको कामको समीक्षा शुरू भएको हो ।

ओलीले सरकारले युगान्तकारी चमत्कार गरेको र नेपालको विकास देखेर विश्व नै चकित भएको दाबी गरे पनि सरकारको एकबर्से कार्यकाल औसतभन्दा माथि उठ्न सकेको छैन । सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नै सुविधाका हिसाबले सरकारको मूल्यांकन गरे पनि जनताले सरकारको कामकारबाहीबाट खासै उपलब्धिको अनुभूति गर्न सकेका छैनन् । निर्वाचनमा अप्रत्याशितरुपमा परास्त भएपश्चात् अझै तंग्रिन नसकेको प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारको कमजोरी केलाउने जाँगरसमेत देखाउन सकेको छैन । संघीय, प्रदेश र स्थानीय सरकारहरुमार्फत भएका काम सन्तोषजनक नभएको मात्र होइन, जनताको जीवनमा प्रभाव पार्ने खालका काम गर्न सकेको अनुभूति जनतालाई हुन सकेको छैन ।

ओलीले हरेकपटकको भाषणमा चामत्कारिक र युगान्तकारी परिवर्तनजस्ता अलंकार जोडे पनि यथार्थ भने फरक छ । उनले नयाँ युगमा एकपटक भनेर सार्वजनिक गरेको सामाजिक सुरक्षा कार्यक्रम होस् वा बेरोजगारलाई भत्ता दिने कार्यक्रम नै किन नहोस्, कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिएको छ । सरकार र कर्मचारीतन्त्रबीच विश्वासको संकट छ । सरकार प्रशंसा चाहने तर आलोचना सहनै नसक्ने रोगबाट ग्रस्त छ । यस्तो प्रवृत्तिले सरकारमा असहिष्णुता मात्र होइन अधिनायकवादी चरित्र हाबी हुँदै गएको छ ।

सरकारले पहिलो वर्षगाँठ मनाउँदै गर्दा भेनेजुएला प्रकरणमा अनावश्यक टिप्पणीका कारण विवादमा मुछिएको छ । भेनेजुएला जनविद्रोहमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले साम्राज्यवादी हस्तक्षेप भनेपछि नेपालले अमेरिकासँग कूटनीतिक तनाव बेहोर्नुपरेको छ । नेपालको संक्रमणकालीन न्यायसम्पादनमा सरकारलाई पश्चिमी मुलुक तथा संयुक्त राष्ट्रसंघले सजग गराइरहेका छन् । राजनीतिमा नयाँ कोर्स शुरू भए पनि नेपालमा संक्रमणकाल अन्त्य भइसकेको छैन । ओलीले भ्रष्टाचारीको अनुहारै हेर्दिनँ भनेर प्रतिबद्धता जाहेर गरे पनि सरकार भ्रष्टाचारमा लिप्त भएको छ ।

वाइडबडी जहाज खरिद प्रकरणको निवारण गर्न पूर्णतः असफल भएको छ । सरकारले यातायात सिन्डिकेटमा हस्तक्षेप गरेर केही आशा जगाए पनि अझै सुधार आएको छैन । ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा, चीनसँग पारवहन प्रोटोकल सहमति र भारतसँग विद्युत् ऊर्जा बैंकिङसम्बन्धी सहमति गरेर उत्साह जगाएको र रेलमार्ग तथा जलयातायातमा पनि सकारात्मक संकेत देखिएका छन् ।
– सुरज सुनार, हाल ः काठमाडौं ।