घूसकाण्डपछि राजिनामा दिएका निवर्तमान आयुक्त पाठकमाथि कारबाहीको बाटो खुल्यो

0
Shares

नेपाल समाचारपत्र काठमाडौँ ।
घूसकाण्डपछि राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकमाथि कारबाहीको बाटो खुलेको छ ।
उनीमाथि महान्यायाधिवक्ता कार्यालयले अनुसन्धान गर्न राय दिएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई घुसकाण्डमा जोडिएपछि राजिनामा दिएका पाठकमाथि अनुसन्धान गर्न राय दिएको हो ।

पाठकलाई अनुसन्धान गर्नुपर्ने स्थिति पैदा भएपछि अख्तियारले महान्यायाधिवक्ताको राय माग गरेको हो ।

सोमबार अख्तियारले मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र लेखेको थियो ।

अख्तियारले माग गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले राय पठाएको स्रोतले जानकारी दिएको छ । आयुक्तको पदबाट राजीनामा दिएका पाठकमाथि संविधान र भ्रष्टाचार निवारण ऐनका आधारमा छानबिन गर्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएको हो ।

‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन’, रायमा भनिएको छ, ‘संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ ।’

त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको सार्वजनिक भएको थियो ।