सेनाले सुत्केरीको ज्यान बचायो

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाली सेनाका जवानले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान जोगिएको छ । बैतडीस्थित शत्रुर्मदन गुल्ममा कार्यरत प्युठ धनेश महताले दिएको रगतका कारण पञ्चेश्वर गाउँपालिका ६ की २१ बर्षीया आशा भट्टको ज्यान जोगिएको हो ।

जिल्ला अस्पताल बैतडीमा आज सुत्केरी हुने आएकी आशालाई अत्याधिक रक्त श्राप भइ ज्यान खतरामा परेको थियो । आशालाई अत्याधिक रक्तश्राप भएपछी आशाका आफन्तले रगतको लागी सेनालाई गुहारेको शत्रुर्मदन गुल्मका गुल्मपती सेनानी पे्रम बहादुर गिरीले बताए । रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण आशालाई नेपाली सेनाका प्युठ महताले एबी पोजेटीभ एकपिन्ट रगत दिएका हुन् उनले भने “अस्पतालमा आकस्मिक रुपमा रगत चाहिएमा सेनालाई गुहार्ने गरेका छन् ”

जिल्ला अस्पतालका डाक्टर देवेन्द्र लेखकले बैतडीमा बल्ड बैंक नहुदा समस्या हुने गरेको बताए । सेनामा धेरै जना एकै ठाउँमा भएकोले आवश्यक पर्दा रगत माग्न सजिलो हुने गरेको डाक्टर लेखकको भनाई छ ।

नेपाली सेनाले बैतडीमा विगतदेखि नै नागरीकहरुलाइ समस्या परेको बेला रगत दिँदै आएको छ ।
आकस्मिक रुपमा रगत आवश्यक परेमा बैतडीमा सेना, प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।