फेरि शुरु हुँदै लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेरि शुरु हुने भएको छ ।

लामो अन्तरालपछि शुरु हुन थालेको पलेँटी फेब्रेवरी महिनादेखि शुरु हुने भएको हो । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको नेपालयले जानकारी दिएको छ ।

सन् २००५ बाट शुरु भएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।

अँग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यसपाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको कुरा नेपालयले जनाएको छ ।

पलेँटीका संयोजक आभासका अनुसार पहिले जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेकाले अबका दिनमा कार्यक्रम मान नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गएको छ ।

आउँदो शुक्रबार शुरु हुने पलेँटी कार्यत्रम महिला गायनमा आधारित हुनेछ । यस कार्यक्रम पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।

यस कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झँनेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा संदर्भलाई संक्षिप्त वाचन गर्ने छन् ।

गायिका निरौलाले यसपटक प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।

उक्त कार्यक्रम यही फेब्रेवरी २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर।शाला’मा हुनेछ ।

पलेँटीको टिकट बूकिंङ पलेँटी र नेपालयका सामाजिक संजाल मार्फत तथा अनलाइन खरिद www.thuprai.com बाट गर्न सकिन्छ ।