क्राफट सिटीको घोषणाले हस्तकलाको नगरी बनेको होइनः सत्यमोहन जोशी

0
Shares

हस्तकला महासंघलाई ललितपुर महानगरपालिका वडा १६ को सम्मान

नेपाल समाचारपत्र
ललितपुर
वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साँच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।

वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका– १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागिको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

पाटन संग्रहालयमा आयोजित सो सभामा वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ‘ऐतिहासिक कालदेखि ललितपुर हस्तकलाको शहर रहेको छ । त्यसैले घोेषणा भएर मात्र ललितपुर हस्तकलाको शहर बनेको होइन । १२ औं शताब्दीका कलाकार अरनिको र महानतम कलाकारहरुको कलाकृतिले भरिएको शहर हो ।’घोषणालाई यहाँको कला, संस्कृति संरक्षण गर्ने अभियान वा अवसरका रुपमा लिनुपर्दछ ।’

अरनिकोको पालादेखि नै नेपाली कलाको विश्वमा ठूलो माग रहेको बताउँदै भन्नुभयो ‘ कला, संस्कृति बचाउन सरकार, निजी क्षेत्र सबैले मिलेर काम गर्नुपर्दछ । समृद्धिको आधार नै कलाकारिताको कदर हो । कृतिको कदर हो । ’ वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ।

सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले घोषणाले ल्याएको अवसरको बढीभन्दा बढी सदुपयोग गर्ने दिशामा अघि बढ्नका लागि वडास्तरीय प्रयासका रुपमा महोत्सवलाई लिनुपर्ने बताउनुभयो ।‘ यस अर्थमा हस्तकला तथा सांस्कृतिक महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु मात्र हो ।’ अध्यक्ष शाक्यले भन्नुभयो ।

विश्वको ३५ औं कला नगरी घोषणा गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको नेपाल हस्तकला महासंघलाई सोही सभामा सम्मान गरियो ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलाई खादा ओढाई र वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सो सम्मान पत्र प्रदान गर्नुभयो ।

सोही अवसरमा महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यलाई वल्ड क्राफ्ट काउन्सिलको एसिया प्यासिफिकको उपाध्यक्ष र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सदस्यमा सरकारले नियुक्ति गरेको पृष्ठभूमीमा हस्तकलाको विकासमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

महासंघको हालै सम्पन्न निर्वाचनमा नवनिर्वाचित पदाधिकारी, ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिं महर्जन सहित कार्यसमिति सदस्य, मयेर कप टेबुलटेनिस प्रतियोगिताका विजयी वडाका खेलाडीपनि सम्मान गरिएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले वल्ड काफ्ट काउन्सिले हस्तकलाको नगरीको घोषणा गरे अनुरुप ठोस काम गर्नुपर्नेमा जोड दिनुभयो । घोषणाले हस्तकला व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या समाधान गर्दै घोषणाले ल्याएको अवसरलाई अधिकत्तम सदुपयोग गर्नुपर्ने पनि अध्यक्ष शाक्यले औल्याउनुभयो ।

अध्यक्ष शाक्यले घोषणा अनुरुप काम अघि बढाउन सहज हुने गरी वडाले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागेको हस्तकला तथा सांस्कृतिक महोत्सवको सफलताको लागि महासंघको पूर्ण साथ, सहयोग समर्थन रहेको बताउनुभयो ।

सो अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य धर्मराज शाक्यले घोषणापछि ललितपुर भित्र रहेका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धन गर्ने बाध्यात्मक अवस्था आएको छ। महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधि गर्ने सकिने अवसर रहेको बताउँदै उहाँले त्यसका लागि ठोस योजनाको खाँचो औल्याउनुभयो ।

ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिं महर्जनले घोषणामा रमाउने भन्दा पनि हस्तकला व्यवसायीलाई प्रवद्र्धन गर्न सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । घोषणाको सन्र्दभमा हुन लागेको महोत्सवले घोषणा अनुरुप काम अघि बढाउन सरोकारवालाको ध्यानाआकृष्ण्ट गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

राजनीतिक दलबाट प्रतिबद्धता

सो सभामा नेकपाका नेतृ एवं ललितपुर क्षेत्र – ३ का सांसद् पम्फा भुसाले काठमाडौं उपत्यकालाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा आफूले जोड दिँदै आएको जनाउँदै वडाले गर्न लागेको महोत्सवले सो दिशामा अघि बढ्न सहयोग हुने बताउनुभयो । उहाँले महोत्सव सफल बनाउन हर प्रकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ का सासंद् शोभा शाक्यले ललितपुरको कला, संस्कृतिलाई प्रर्वद्धन गर्न हुने लागेको महोत्सवले कला संस्कृतिको संरक्षणका लागि बृहत स्तरमा अघि बढ्न सबैलाई प्ररेणा दिने बताउनुभयो ।

नेकपा ललितपुरका प्रमुख हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष रवीन्द्र महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायतले जिल्लाको आर्थिक समृद्धिको आधार नै कला, संस्कृति रहेको बताउँदै त्यसको संरक्षणका लागि ठोस नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

हस्तकला व्यवसायीहरुको लागि हस्तकला प्रशिक्षण केन्द्र स्थापना गर्नुपर्ने पनि उहाँहरुको जोड रहेको छ । हस्तकलाको क्षेत्रमा महोत्सव समयको माग रहेको बताउँदै उहाँहरुले त्यसमा यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।