निर्मला हत्या प्रकरणः आमा–बुबाले धर्ना स्थगित गर्दै

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् । २४ घण्टे धर्नाका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले जारी राखेको धर्ना स्थगित गर्न लागेका हुन् । गत कात्तिक २५ गतेबाट निर्मलाको परिवारले न्यायका लागि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना बस्दै आएका छन् ।
फागुन १० गतेबाट धर्ना स्थगित गर्न लागिएको अधिकारकर्मी शारदा चन्दले बताईन् । निर्मलाका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालका चिकित्कसले एक महिनाअघि नै उपचारका लागि बोलाएका थिए । यज्ञराजले डिप्रेसनको औषधी लिँदै आएका छन् । कान्छी आमा लक्ष्मीमा पनि टाउको दुख्ने, शरीर सुन्निने लगायतका समस्या देखिएको छ ।  धर्ना स्थगित गर्दै यज्ञराज र लक्ष्मी त्रिवि शिक्षण अस्पतालमा जानेछन् । फागुन १० गते पीडित परिवारले संघर्ष समिति मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय भएको चन्दले जानकारी दिईन् ।
गत साउन १० गते साथीको घर निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन । केन्द्रीय अनुसन्धान ब्युरोलगायतको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।